काठमाण्डौ । विश्वभर सन्त्रास फैलाइरहेको कोरोनाभाइरसबाट संक्रमित बनेका मानिसलाई केही राहात हुने गरी छिमेकी भारतले स्वास्थ्य बिमा योजना अगाडि सारेको छ।

भारतमा हालसम्म कोरोनाभाइरसबाट २९ जना संक्रमित भइसकेका छन्। कोरोनापीडित जनताको उपचार खर्च कभर गर्ने गरी स्वास्थ्य बिमा योजना ल्याउन इन्स्योरेन्स रेग्युलेटरी एन्ड डेभलपमेन्ट अथोरिटी (इरडा) ले बिमा कम्पनीहरुलाई सुझाव दिएको हो। 

भारतमा कोरोनापीडितका लागि बिमा योजना प्रस्ताव विश्वकै पहिलो हो। 

इरडाले बुधबार जारी गरेको विज्ञप्तिमा ‘स्वास्थ्य बिमाको आवश्यकता पूरा गर्ने उद्देश्यले बिमा कम्पनीहरुलाई दिइएको सुझावमा यस्तो प्रडक्टको डिजाइन गरियोस् जसमा कोरोनाभाइरसबाट पीडितहरु उपचार खर्च पनि कभर होस्’ भनिएको छ। 

भारतको एसबीआई जनरल इन्स्योरेन्सका प्रमुख सुब्रमण्यम बीले कोरोना भाइरसबाट संक्रमित भएको पत्ता लगाउन बिरामीलाई २४ घन्टासम्म अस्पतालमा भर्ना गर्नुपर्ने र रोग यकिन भएपछि मात्र बिमा योजनामा समावेश गर्न सकिने बताए। ‘धेरैजसो स्वास्थ्य बिमा पोलिसीमा त्यस्ता बिरामीको उपचार खर्च कभर गर्न सकिँदैन जो अस्पतालमा भर्ना हुँदैनन्’, उनले भने।

अर्कोतर्फ सुब्रमण्यमले भारत सरकार र डब्ल्यूएचओले कोरोनालाई महामारी घोषणा गरेमा यसबाट प्रभावितहरुलाई बिमा योजनामा सामेल गर्न असम्भव रहेको बताए। ‘किनकि महामारीको रुप लिने यस्ता रोगबाट पीडितहरु स्वास्थ्य बिमा योजनामा समावेश हुँदैनन्’, उनले भने।

उता म्याक्स बूपा हेल्थ इन्स्योरेन्सका एमडी आशीष मेहरोत्रा भने कोरोनापीडितको बिमा कभर बनाउन तयार देखिएका छन्। उनले यदि कोरोनाबाट प्रभावित बिरामी अस्पतालमा भर्ना भएर उपचार गरिरहेको हुन्छ भने त्यस्ता बिरामीलाई स्वास्थ्य बिमा योजनाअन्तर्गत उपचार खर्च दिन सकिने जानकारी दिए।

यसरी कोरोनाभाइरसबाट प्रभावित जनताको उपचारका लागि बिमा योजना ल्याउने तयारी भारतले गरिरहेको भए पनि नेपालमा भने यस्तो चर्चा चलेको छैन। यद्यपि भारतजस्तै नेपालले पनि यदि कोहीकसैमा कोरोनाभाइरसको संक्रमण देखिएपछि बिमा योजनामा समावेश उत्तम हुने देखिन्छ। 

हालसम्म विश्वभर कोरोनाभाइरसबाट ३ हजार बढीको ज्यान गइसकेको छ भने ९० हजारभन्दा बढी मानिस संक्रमित भएका छन्। –एजेन्सी