काठमाण्डौ । भारतको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी मारुती सुजुकीको माउ कम्पनी सुजुकी मोटर कार्प इन्धन स्क्याण्डलमा नराम्ररी फस्दै गएको छ । कम्पनीमाथि फ्यूल माइलेजको बिषयमा धोकाधडी गरेको गम्भीर आरोप लागेको छ । यो खबरपछि टोकियो स्टक एक्सचेञ्जमा सुजुकीको शेयरमा १५ प्रतिशत भन्दा बढीको गिरावट देखिएको छ । कम्पनीको शेयरमा एकैदिन देखिएको यो गिरावट १६ वर्षकै तल्लो स्तरको हो । 

तर सुजुकी कर्पोरेशनका चेयरमेन ओसामू सुजुकीले पत्रकार सम्मेलन गरी कम्पनीतको आन्तरिक जाँचको क्रममा कुनै पनि गडबडी फेला नपरेको दाबी गरेका छन् । सुजुकीको यस्तो धोखाधडीका कारण बजारमा रहेका २१ लाख गाडीका प्रयोगकर्ता खिन्न भएका र उनीहरुको आकर्षण सुजुकीप्रति घटेको पाइएको छ । खराब जाँच र धोकाधडी गरिएको भनिएका सबै मोडल अहिले बजारमै छन् । 

के हो विषय ?
जापानकै अर्को कार कम्पनी मित्सुबिसी फ्यूल स्क्याण्डलमा मुछिएसँगै सुजुकीको पनि छानबिन थालिएको हो । जापान सरकारबाटै थालिएको जाँचको क्रममा सुजुकीका उत्पादनमा समेत फ्यूल स्क्याण्डल भएको र गलत प्रचार गरी उपभोक्ता ठग्ने काम भएको पाइएको छ । सुजुकीले पनि आफ्नो कारको फ्यूल टेस्टिङ मेथडमा केही न केही गडबडी रहेको स्वीकार गरिसकेको छ । 

चेयरमेन सुजुकीका अनुसार फ्यूल माइलेज चेक गर्नका लागि कम्पनीले अर्को मेथडबाट समेत काम गरिरहेको छ । स्मरण रहोस्, अघिल्लो महिना मित्सुबिसी कम्पनीले आफ्ना केही मोडलका गाडीमा माइलेज टेस्टिङको बिषयलाई लिएर सन् १९९१ देखि नै झूठो प्रचार हुँदै आएको स्वीकार गरेको थियो । मित्सुबिसीका अनुसार आन्तरिक जाँचपछि यो पत्ता लागेको छ कि, यो कम्पनीको केही उत्पादनहरुमा जानीबुझी नै झूठ बोलिएको थियो वा झूठो प्रचार गरिएको थियो । 

जापानमा ६६० सीसीका मिनी भेइकल बनाउने कम्पनीलाई कानून अनुसार प्रिफ्रेन्सियल कर छुटको सुविधा उपलब्ध छ । यसकारण कार बनाउने कम्पनीहरुले यस्तो कानूनी व्यवस्थाबाट फाइदा लिनका लागि यस्ता स्क्याण्डल मच्चाउने गर्छन । 

उता, सुजुकीको फ्यूल स्क्याण्डल बाहिर आएलगत्तै मारुती सुजुकी इण्डिया लिमीटेडका चेयरमेन आरसी भार्गवले यो बिषयमा तत्काल आफूलाई कुनै जानकारी नभएको र कुनै प्रतिक्रिया नदिने मनी भास्करलाई बताएका छन् । 

१६ वर्षकै ठूलो गिरावट
जापानको टोकियो एक्सचेञ्जमा सुजुकीको शेयरमा भारि गिरावट आएको छ । मंगलबार सुरुवातको कारोबारमै १५  प्रतिशतले गिरावट देखिएको हो । यो कम्पनीको शेयरमा यति धेरै गिरावट १६ वर्षकै ठूलो र डरलाग्दो हो । वर्षभरि कम्पनीको शेयर मूल्य ३१ प्रतिशतले घटेको देखिएको छ । 

मारुती सुजुकीको पनि उस्तै हाल
माउ कम्पनीको शेयर मूल्यमा भारी गिरावटको असर भारतको मारुती सुजुकीमा समेत परेको छ । मारुती सुजुकीको शेयरमा समेत जापानको असर परेको छ । बुधबार मारुती सुजुकीको शेयरमा ४ प्रतिशतको गिरावट देखियो । शेयर मूल्य १२६ भारुले घटी ३८२३ भारुमा आइपुगेको छ । पछिल्लो ६ महिनामा मारुती सुजुकीको शेयरमा १५ प्रतिशतको गिरावट रेकर्ड भएको छ । 

फक्सवेगनमा पनि गडबडी
जर्मनको कार बनाउने कम्पनी फक्सबेगनले अघिल्लो वर्ष स्वीकार गरेको थियो कि, उसले १ करोड १० लाख डिजल कारको पोलुसन जाँचमा गडबडी गरेको थियो । कम्पनीले स्वीकार गर्दै भनेको थियो कि डिजल इञ्जिनमा एक डिफिट डिभाइस लगाइएको थियो, जसले एमिसन टेस्टलाई चक्मा दिएर जाँच गर्नेलाई भ्रमित तुल्याएको थियो ।