काठमाण्डौ । सन् २०२२ मा विश्वको अर्थव्यवस्था १०० ट्रिलियन डलर बढीको हुने भएको छ। 

सेन्टर फर इकोनोमिकक्स एन्ड बिजनेस रिसर्च (सीईबीआर) ले सार्वजनिक गरेको वर्ल्ड इकोनोमिक आउटपुट प्रतिवेदनअनुसार विश्वको अर्थव्यवस्था सन् २०२२ मा १०० ट्रिलियन डलर बढीको हुने भएको हो। 

प्रतिवेदनअनुसार अमेरिकालाई पछि पार्दै चीन सन् २०३० सम्म विश्वकै सबैभन्दा ठूलो अर्थव्यवस्था भएको देश बन्नेछ। जुन पहिलेको अनुमानभन्दा २ वर्ष पछि हो। यसअघि चीन सन् २०२८ मै सबैभन्दा ठूलो अर्थव्यवस्था भएको देश बन्ने प्रतिवेदन सार्वजनिक भएको थियो। 

यसैगरी सन् २०३३ मा अर्थव्यवस्थाको हिसाबले जर्मनी जापानलाई पछि पार्नेछ। इन्डोनेसियाले पनि सन् २०३४ सम्म सबैभन्दा ठूलो अर्थव्यवस्थाको हिसाबले ९ वौँ स्थानमा आउन सक्ने प्रतिवेदनमा उल्लेख छ। त्यहीँ सन् २०३६ सम्म रुस पनि टप १० भित्र पर्ने अनुमान गरिएको छ। 

छिमेकी मुलुक भारतले सन् २०२३ मै बेलायतलाई पछि पार्दै छैटौँ ठूलो अर्थव्यवस्था भएको देश बन्ने प्रतिवेदनमा उल्लेख छ। सन् २०३१ सम्म भारत विश्वकै तेस्रो ठूलो अर्थव्यवस्था भएको देश बन्ने जनाइएको छ। 

सीईबीआरका डेपुटी चेयरम्यान डगलस म्याकाविलियम्सले यो दशकमा विश्व अर्थतन्त्रको मुख्य मुद्दा महँगीको हुने बताए। ‘यो हेर्नुपर्ने हुन्छ कि विश्वका देशहरु महँगीसँग कसरी लड्नेछन्’, उनले भने, ‘यदि महँगी नियन्त्रण नभए विश्व सन् २०२३ वा २०२४ मा मन्दीका लागि तयार हुनुपर्नेछ।’

अमेरिकामा महँगी ६.८ प्रतिशत पुगेकोमा उनले चिन्ता व्यक्त गरे। ‘यदि नीति निर्माताहरुले महँगी नियन्त्रणका सक्दैनन् भने कोभिड महामारी कम भए पनि विश्व अर्थतन्त्रको पुनरुत्थान प्रभावित हुन सक्छ र मन्दीको सामना गर्नुपर्ने हुन्छ’, उनले भने। – एजेन्सी