काठमाण्डौ । अमेरिकासँग विश्वको सबैभन्दा शक्तिशाली सेना हुन सक्छ। तर, डलर अमेरिकाको मुख्य हतियार हो। 

विश्व बजारमा डलरको ८० वर्षको प्रभुत्वपश्चात विश्वव्यापी मुद्रा सञ्चितीमा अमेरिकी डलरको दबदबा जोखिममा पर्ने देखिएको छ। 

विश्व मुद्रा सञ्चितीमा १२.८ ट्रिलियन मूल्यबराबरको लगभग ६० प्रतिशत हिस्सा डलरको रहेको छ। जसले अमेरिकालाई अन्य देशहरुभन्दा धेरै विशेषाधिकार दिएको छ र डलरद्वारा समर्थित अमेरिकी सरकारको ऋण धेरै आकर्षक हुनुका साथै ब्याजदर पनि कम भएकाले यो विशेषाधिकारको आफ्नै महत्व रहेको छ। यसका कारण अमेरिकाले अन्य देशहरुबाट आफ्नै मुद्रामा ऋण लिन पाउँछ। त्यसैले यदि अमेरिकी डलरको मूूल्यमा गिरावट आउँछ भने ऋण पनि घट्छ। 

अमेरिकी व्यापारीहरुले विनियम शुल्क नतिरीकनै डलरमा अन्तर्राष्ट्रिय कारोबार गर्न पाउँछन्। सबैभन्दा महत्वपूर्ण कुरा के भने चरम र अप्ठेरो अवस्थामा अमेरिकाले विश्वभरका केन्द्रीय बैंकहरुमा डलरको पहुँच कटौती गर्न सक्छ। यसरी अमेरिकाले विश्वका देशहरुलाई एक्ल्याउन र उनीहरुको अर्थतन्त्रलाई संकटमा पार्न डलरलाई हतियारका रुपमा प्रयोग गर्न सक्छ। भारतीय केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’का पूर्वगर्भनर रघुराम राजनले यो शक्तिलाई ‘सामूहिक विनाशको आर्थिक हतियार’को संज्ञा दिएका छन्। 

गत फेबु्रअरी महिनामा रुसले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिकाले विदेशी मुद्राको ३६० बिलियन फिज्र गर्दै डलर हतियारले रुसमाथि आक्रमण गर्यो। जसका कारण रुसको मुद्रा रुबेलको मूल्यमा भारी गिरावट आएको छ। यसरी अमेरिकाले आफ्नो सेना युद्धमा संलग्न नगराइकनै रुसलाई दण्डित गर्न सफल भएको देखिन्छ। 

यद्यपि अधिक शक्तिसँगै अधिक जिम्मेवारी पनि सँगसँगै जोडिएर आउँछ। सामूहिक विनाशमा प्रयोग हुने वास्तविक हतियारमात्र नभएर वित्तीय हतियारबाट पनि मानिसहरु डराउने गर्छन्। त्यसैले रुसको जस्तो नियति भोग्न नपरोस् भनेर अन्य देशहरुले अमेरिकी डलरबाट टाढिँदै अन्य देशहरुको मुद्रामा आफ्नो लगानी विविधीकरण सुरु गरेका छन्। 

डलरलाई हतियारका रुपमा प्रयोग गर्ने अमेरिकी रणनीतिका बारेमा बैंक अफ अमेरिकाका रणनीतिकार माइकल हार्नेट भन्छन्, ‘यसले डलरलाई पतन गर्न सक्छ। विश्वको वित्तीय प्रणालीलाई राजनीतिका आधारमा विभाजन गर्दा यसले रिजर्भ मुद्राका रुपमा अमेरिकाको भूमिकालाई कम गर्नेछ।’

अन्तर्राष्ट्रिय मुद्रा कोषले हालै सर्वाजनिक गरेको नयाँ अनुसन्धानपत्रले विगत दुई दशकदेखि अमेरिकाले आतंकवादविरुद्धको लडाइँ र आतंकवादविरुद्ध प्रतिबन्ध लगाएसँगै अन्तर्राष्ट्रियस्तर डलर सञ्चितीको हिस्सा घट्दै गएको जनाएको छ। यो अवधिमा विश्व मुद्रा सञ्चितीको एक चौथाइ हिस्सा चिनियाँ युआनमा र बाँकी तीन चौथाइ हिस्सा साना देशहरुको मुद्रामा सरेको छ। 

अनुसन्धानपत्रका सहलेखकहरु सेकर्न आर्सलानाल्प, ब्यारी इचेनग्रिन र चिमा सिम्पसनले यी तथ्यहरुले अन्तर्राष्ट्रिय प्रणाली कसरी अगाडि बढ्न सक्छ भन्ने संकेत प्रदान गरेको बताएका छन्। 

रुस र चीनले अन्तर्राष्ट्रिय प्रणालीको यो विकासलाई मार्गदर्शन गर्ने विश्वास गरेका छन्। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी बैंकमा खाता नखोल्ने र रुबेलमा भुक्तानी नगर्ने देशहरुलाई ग्यास निर्यात नगर्ने चेतावनी दिएका छन्। युरोपेली युनियनले ४० प्रतिशत ग्यास र ३० प्रतिशत तेल रुसबाट आयात गर्ने भएकाले युरोपका देशहरुसँग रुसको निर्णय स्वीकार गर्नुको विकल्प छैन। 

यसैबीच चीनलाई तेल बिक्री गर्दा डलरको साटो युआन स्वीकार गर्न साउदी अरबले बेइजिङसँग वार्ता गरिरहेको छ। 

के यी सबै कारक तत्वहरुले विश्वबजारबाट डलरको ताज खोसिएला ? विगतको दुई वर्षले अन्तर्राष्ट्रिय जगतलाई सिकाएको पाठका आधारमा भन्ने हो भने यहाँ केही पनि असम्भव छैन। तर डलरलाई लिएर अमेरिकाले पाउँदै आएको विशेषाधिकार गुमाउने सम्भावना भने कम नै देखिन्छ। 

एक त डलरको विकल्प त्यति राम्रो देखिँदैन। चीनले आफ्नो मुद्रा युआनलाई बढावा दिन वर्षौंदेखि प्रयास गरिहेको छ। तर, अथक प्रयासका बाबजुद पनि विश्वभर हुने कुल कारोबारमा युआनको हिस्सा जम्मा ३ प्रतिशतमात्रै छ। जब कि विश्व कारोबारमा डलरको हिस्सा ४० प्रतिशत छ। 

बाँकी विश्वका लागि अमेरिका अहिले पनि आकर्षक बजारमा रुपमा रहेको छ। अमेरिकी सेयर बजार विश्वकै सबैभन्दा ठूलो र सबैभन्दा धेरै तरलता भएको सेयर बजार हो। अमेरिकी सेयर बजारमा विश्वभरका देशबाट पुँजी भित्रिने गर्छ। 

सन् २०२१ मा अमेरिकामा प्रत्यक्ष वैदेशिक लगानी ७७ प्रतिशतले वृद्धि हुँदै १.६५ ट्रिलियन डलर पुगेको थियो। – एजेन्सी