काठमाण्डौ । विश्व बैंकले नेपाललाई १२० मिलियन अमेरिकी डलर (करिब १५ अर्ब ८७ करोड रुपैयाँ) ऋण र १९.७ मिलियन अमेरिकी डलर (करिब २ अर्ब ६० करोड रुपैयाँ) अनुदान दिएको छ। 

नेपाल सरकार र विश्व बैंकबीच बुधबार १५ अर्ब ८७ करोड ऋण र विद्यालय क्षेत्र रुपान्तरण कार्यक्रम (एसएसटीपी) सञ्चालनका लागि ग्लोबल पार्टनरसीप फर एजुकेसनमार्फत २ अर्ब ६० करोड अनुदानको सम्झौतामा बुधबार हस्ताक्षर भएको हो। सम्झौतामा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री निर्देशक फारिस हदाद–जेर्भोसले हस्ताक्षर गरेका छन्।

एसएसटीपी सञ्चालनले प्रारम्भिक कक्षाहरुमा राष्ट्रिय एकीकृत पाठ्यक्रम लागू गरेर आधारभूत सीप सुधार गर्नमा केन्द्रित हुने जनाइएको छ। कोभिड–१९ र अन्य प्रकोपका कारण विद्यालय बन्द हुँदा हुने सिकाइ नोक्सानलाई सम्बोधन गर्ने जनाइएको छ। 

यसैगरी पठनपाठन र सिकाइलाई सुदृढ पार्ने, हरियाली र आरामदायी कक्षाकोठा निर्माण गर्नेगरी ‘रिकभरी एन्ड एक्सेलेरेटेड लर्निङ प्लान’को विकास तथा कार्यान्वयन गरिने जनाइएको छ। कक्षाकोठा, योग्य शिक्षक, बालमैत्री ट्याप र सिट, र प्रारम्भिक बाल शिक्षा विकास केन्द्रमा शौचालय तथा डिजिटल शिक्षण सिकाइ सामग्रीलाई सुदृढ गर्नेजस्ता कार्यक्रम समावेश गरिएका छन्।