काठमाण्डौ । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ। 

विश्व वातावरण दिवस जुन ५ तारिखको पूर्वसन्ध्यामा दिगो घर कर्जा योजना (Nabil Sustainable Housing Loan) को स्किम अघि सारिएको हो ।

आइतबार केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच  नबिल बैकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले उक्त कर्जा योजनाको अनावरण गरे ।

उनले नबिल बैंकले दिगो बैंकिङको अवधारणामा काम गर्दै आएको र यस कर्जाले दिगो विकासमा सर्वसाधारणको पहुँच स्थापित गर्ने बताए । 

सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले नबिल बैकले दिगो बैंकिङ क्षेत्रमा गरेका विभिन्न कार्यहरूको बारेमा प्रकाश पारेका थिए । 

साथै बैकका वरिष्ठ नायब कार्यकारी अधिकृत सुजितकुमार शाक्यले नबिल दिगो घर कर्जा एउटा शुरुवाती प्रयास भएपनि यसले समाजमा पार्ने सकारात्मक असर तथा महत्वका बारेमा आफ्नो धारणा राखेका थिए । उनले नबिलले ल्याएको यस कर्जा प्रडक्टले सहुलियत दरमा कर्जा प्रवाह गरी यसले दिगो विकासमा टेवा पुर्याउने विश्वास गरे । 

कार्यक्रममा वैकल्पिक ऊर्जा प्रबर्द्दन केन्द्रका कार्यकारी निर्देशक नवराज दाहाल तथा स्मार्ट पानीका सहसंस्थापक सुमन शाक्यको उपस्थिति रहेको थियो । 

नबिल दिगो घर कर्जा वातावरणमैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरी घर निर्माण गर्न चाहने ग्राहकहरूलाई लक्षित गरिएको छ । यस स्किमले देशको आवास निर्माण क्षेत्र भित्र वातावरणमैत्री र सामाजिक रूपमा जिम्मेवार अभ्यासहरू प्रवर्द्धन गर्ने विश्वास बैंकले लिएको छ । 

दिगो आवासमा लगानी गर्न चाहने ग्राहकहरूलाई सस्तो ब्याजदर र सेवा शुल्कमा कर्जा प्रवाह गरी यस योजनाले समाजमा वातावरण मैत्री अभ्यासहरू अपनाउन प्रोत्साहन गर्ने अपेक्षा राखिएको छ।

वातावरणमैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरेर घर निर्माण गर्न चाहने ग्राहकहरूले यस योजनाअन्तर्गत आवास कर्जा लिन सक्नेछन् । बैंकले सुरुवात गरेको नबिल दिगो घर कर्जा ग्राहकहरुले बैकको आधार दरमा मात्र १ प्रतिशत प्रिमियम थपेर प्राप्त गर्न सक्नेछन भने स्थिर ब्याजदर चाहने ग्राहकहरुले सात वर्षका लागि वार्षिक १०.४९ प्रतिशतमा नै प्राप्त गर्न सक्नेछन् । 

सात बर्ष भन्दा बढी अवधि भएको स्थिर ब्याजदर चाहने ग्राहकहरुले सात वर्षको लागि वार्षिक १०.४९ प्रतिशत र सात बर्षपछि बाँकी अवधिमा सात वर्ष पछिको आधार दरमा १ दशमलब ५ प्रतिशत जोडी हुने व्याजदरमा प्राप्त गर्न सक्नेछन् ।

साथै यस स्किमअन्तर्गत ग्राहकले सेवा शुल्कमा पनि आकर्षक सहुलियत पाउनेछन् भने १ वर्षलाई दुई लाखसम्मको निशुल्क क्रेडिट कार्ड पनि उपलब्ध गराईनेछ ।  

यस कर्जालाई ग्राहकले सरल मासिक किस्तामा अधिकतम २० वर्षसम्ममा चुक्ता गर्न सक्नेछन् । यो कर्जा योजना बैंकको कुनै पनि शाखाबाट प्राप्त गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यो कर्जा प्राप्त गर्नका लागि ग्राहकले निर्माण हुन गइरहेको घरको हकमा घरको नक्सा पास पेश गर्नुपर्नेछ भने उक्त नक्सामा वर्षाको पानी संकलन र संरक्षण गर्ने प्रविधि, फोहर व्यवस्थापन गर्ने प्रविधि तथा किफायती ऊर्जा सामाग्रीहरू जस्तै सिएफएल, एलइडी लाइटहरूको प्रयोग, सोलार प्रविधिबाट पानी तताउने र किफायती बिजुलीको प्रयोग गरी खाना पकाउने प्रविधि जस्तै इन्डक्सन कुकिङ आदि प्रविधिहरू समावेश भएको हुनु पर्ने उल्लेख छ ।

यो कर्जा, वातावरणमैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरेर नयाँ घर निर्माण गर्न, वा निर्माण भइसकेको घर खरिद गर्न, अन्य वित्तीय संस्थाबाट कर्जा लिई वातावरणमैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरी निर्माण भइसकेको घरको कर्जा स्वाप गर्न तथा यस बैंक बाट घर कर्जा उपयोग गरिरहेका ग्राहकहरूले निर्माण भइसकेको घरमा वातावरणमैत्री तथा किफायती ऊर्जा प्रविधि जडान गरी घरको मर्मत सम्भार गर्न थप कर्जा चाहिएमा प्राप्त गर्न सक्नेछन्।  

न्यूनतम कर्जा सीमा रु सात लाख र अधिकतम सीमा रु पाँच करोड हुनेछ ।