काठमाण्डौ । सेयर बजारका चर्चित प्राविधिक विश्लेषक विष्णुकुमार बस्यालले बजारमा तत्काल ठूलो उछाल नआउने प्रक्षेपण गरेका छन् ।

बिजशालासँग कुरा गर्दै उनले यस्तो प्रक्षेपण गरेका हुन् । 

‘२–३ महिनाभित्रमा बजारमा ठूलै उछाल आई अलटाइम हाईलाई ब्रेक गर्ने संभावना देखिन्न ।’ उनले भने–‘तर, यो बीचमा बजार धेरै घट्ने अवस्था पनि छैन ।’ 

उनले पछिल्लो समय बजारले सपोर्ट लिन खोजिरहेको बताए । ‘बजार धेरै अंकले घट्दा पनि भोल्युममा ठूलो प्रेसर देखिएको छैन, यो भनेको सुखद संकेत हो ।’ उनले थपे–‘बजार अझै २–३ दिन डाउनवार्डमै निरन्तर हुने देखियो । धेरै तल आए, २३५० को विन्दूसम्म आउँछ ।’ 

पुरानो लो २३९० लाई रिटेस्ट गर्दै बजार पुनः माथि जानसक्ने संभावना समेत उनले औंल्याए । ‘अबको २–३ दिनपछि ४–५ दिनको र्याली देख्न पाइने संभावना छ ।’ उनले भने–‘२३९० बाट बजार चलेको थियो, त्यसको सपोर्ट खोज्दा लगभग २४४० मा थियो । अब त्यो सपोर्ट भत्किसकेको छ । त्यो भत्किसकेपछि नयाँ लो तिर बजार अगाडि बढेको जस्तो देखिन्छ ।’ 

बजारले अब २३५० देखि २३७० को बीचमा कुनै सपोर्ट भेट्नसक्ने समेत उनले प्रष्ट पारे । 

नेपाली सेयर बजारमा बुलिस ट्रेण्ड यथावत रहेको उल्लेख गर्दै उनले लङटर्मका लागि लगानीबाट राम्रो रिटर्न हुने समेत सुझाए । उनको अनुमानमा बजार अबको ३ महिनाभित्रमा सामान्य घटेर पुनः बढी २५५० को विन्दूसम्म पुग्नसक्छ । ‘छिट्टै हाई ब्रेक गर्ने संभावना चाहिँ म देख्दिँन ।’–उनले भने । 
 

लगानीकर्ताले केमा ध्यान दिने ?

उनले घट्दो बजारमा नअत्तालिन र विवेक पुर्याएर खरीदबिक्रीको निर्णय लिन समेत लगानीकर्तालाई सुझाएका छन् । ‘तपाईले आफ्नो लगानीको स्पष्ट टाइमफ्रेम बनाउनुपर्छ ।’ उनले भने–‘एक हप्तामै प्रफिट कमाउँछु भनेर लाग्नुभएको छ भने कारोबार बिहेबियर पनि त्यही किसिमको हुनुपर्छ । सोहीअनुसारको रिस्क म्यानेजमेन्ट गर्न समेत जान्नुपर्छ ।’ 

उनले सेयर बजारमा लगानी गर्दा जहिल्यै पनि निश्चित प्रतिशत प्रफिट गर्छु भनेर प्रफिट टार्गेट बनाउनुपर्ने र सोहीअनुसार निश्चित प्रतिशत घटेपछि बजारबाट बाहिर निस्किन्छु भन्ने स्टप लस रणनीति बनाउनुपर्नेमा जोड दिए । ‘लगानीकर्ताले आफ्नो अपेक्षाविरुद्ध बजार चल्यो भने कति प्रतिशतलाई स्टप लस बनाउने भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ ।’ उनले भने–‘तर, यदि २–३ वर्षका लागि लगानी गरिरहनुभएको छ भने बजार वा तपाईले किनेको कम्पनीको मूल्य तल आउँदा नआत्तिनुस्, बरु मूल्य घटेको बेला पोर्टफोलियो झनै बढाउनतिर लाग्नुस् ।’ 

उनले नेप्सेका विभिन्न उपसमूहमध्ये माइक्रोफाइनान्समा र्याली आउने अपेक्षा गरिए पनि त्यस्तो नभएको उल्लेख गर्दै अबको दिनमा पनि यदि कुनै सेक्टरमा पोजिटिभ र बुलिस प्रवृति सुरु हुन्छ भने त्यो हाइड्रोपावर नै रहेको दाबी समेत गरे । ‘अहिले पनि हाइड्रोपावर क्षेत्रमा लगानी गरे राम्रो रिटर्न पाउन सकिन्छ ।’–उनले थपे ।