– अर्जुन तिमिल्सिना

काठमाण्डौ । पछिल्लो समय सेयर बजारमा कारोबार तथा नेप्से परिसूचक दुवैले एकपछि अर्को रेकर्ड कायम गर्दै आएका छन्। बजार झन्डै ३००० को विन्दु नजिक र २० अर्बको आसपासमा कारोबार भएको छ।

अब बजारको चाल के होला भनेर समग्र लगानीकर्तामा उत्सुकता छाएको छ। यसै विषयमा आज हामीले सेयर बजारका प्राविधिक विश्लेषक विष्णुप्रसाद बस्यालसँग संक्षिप्त कुराकानी गरेका छौँ। 

पछिल्लो अवस्थामा सेयर बजारलाई प्राविधिक रुपमा कसरी बुझ्नु भएको छ ? अझै बढ्ने कति सम्भावना छ  र आधारहरु के–के हुन् ?

- अहिलेसम्म बजार बुलिस प्रवृत्तिमै छ। यो टार्गेट लगभग ३०५० विन्दुको हो जस्तो देखिन्छ। त्यो टार्गेट पूरा हुन सक्ने देखिन्छ। यदि त्योभन्दा माथि गयो भने थप अध्ययन गरेर भन्न सकिएला। त्यसपछि लामो करेक्सन आउन बाँकी नै छ जस्तो देखिन्छ। 

अहिले सेक्टरवाइज रोटेसनले बजार धानिएको देखिन्छ। बैंक चल्यो भने केही माथि जाला। सेक्टरवाइज हेर्ने हो भने अहिले डेभलपमेन्ट बैंक, फाइनान्स तथा हाइड्रो निकै नै बढिसकेका देखिन्छ। यो लेभलबाट लगभग नाफा बुक हुन सक्ने देखिन्छ। मेरो विचारमा यो र्याली अब धेरै दिन जाने म देख्दिन।

इलिअट वेभअन्तर्गत अहिले कुन चक्र चलेको हो ? कति माथि पुगेपछि करेक्सन आउला ?

- मेरो बुझाइमा लकडाउनपछि १६५० बाट सुरु भएको बजारमा यो इन्टरमिडियट डिग्रीको (३) भित्रको माइनर वेभको १ हो। फिवोनासी आधारमा भन्दा अहिले भनेको माइनर डिग्रीको अन्तिम (भी) वेभ हो भन्ने मेरो बुझाइ छ।

यदि करेक्सन नै भए कतिसम्म बजार तल आउला ? के आधारमा यसो भन्न सकिन्छ ?

- यदि मेरो गणितीय विश्लेषण सही हो भने २६१० मा ट्रायांगल सिकिएको हो भने २३७० मा ट्रायांगल (ए) लाई बजार रिट्रेस्ट गर्न आउन सक्छ। प्राविधिक विश्लेषणमा मैले भनेको सही पनि नहुन सक्छ।

कारोबार तथा भोलुमका आधारमा अहिले बजारलाई कसरी बुझ्ने ? झन्डै २० अर्बको कारोबार भएको छ नि ?

कारोबार र भोलुमका आधारमा भन्नुपर्दा बढ्दो बजारमा कारोबार बढ्नु स्वभाविक हो। कारोबारभन्दा पनि भोलुमबाट हेरिनु उपयुक्त हुन्छ। भोलुम पनि बढेको छ। त्यो भोलुम सस्ता सेयरबाट आएको हो। फाइनान्स, डेभलमेन्ट बैंक र हाइड्रोलाई हटाएर हेर्दा खासै भोलुम बढेको छैन। यो भोलुम पनि कसरी बढ्यो भने सर्कुलर ट्रेडिङबाट एकै सर्कलभित्र भएको जस्तो देखिन्छ। यो भोलुमको वृद्धि स्वभाविक छैन। यिनीहरु बबल क्षेत्रमा चलेका छन्। बबल क्षेत्रमा छिरेको बजारमा प्राविधिक रुपमा पनि भन्न सकिन्न तर बबल हो भनेर भन्न सकिन्छ। यसले सर्कुलर गर्नेहरु पक्कै पनि निस्कन्छन् तर साना लगानीकर्ताको अवस्था के हुन्छ भनेर भन्न गाह्रो छ। 

बैंकिङ पनि बढेको भए स्वभाविक भन्न सकिन्थ्यो। बबल फुट्यो भने बजारको घटाइ अनुमान गरेभन्दा बढी पीडादायी हुन सक्छ। त्यसैले साना लगानीकर्ता बढी होसियार हुनुपर्छ। 

सेक्टरवाइजको हिसाबले अब कुन सेक्टरमा लगानीकर्ता आकर्षित होलान् ? 

- सेक्टरवाइज हिसाबले भन्ने हो भने हिजोबाट बैंकिङ सेक्टर केही चलेको देखिन्छ। अर्को भनेको माइक्रोफाइनान्स चल्न सक्छ। यो हिसाबले बैंक र माइक्रोफाइनान्स नै चल्ने देखिन्छ।