काठमाण्डौ । वीरगञ्जका एक प्रतिष्ठित व्यापारीमा कोरोना संक्रमण पुष्टि भएको छ । 

केही दिनअघिदेखि निरन्त रुघाखोकी र ज्वरो आएपछि उनलाई थप उपचारका लागि परिवारले बिहारको राजधानी पटना लगेका थिए । त्यहाँ चेकजाँच गर्दा उनमा कोरोनाको संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएका व्यक्ति वीरगञ्जकै प्रतिष्ठित व्यापारी रहेको दाबी गरिएको छ ।  

वीरगञ्जमा हुँदा कोरोना संक्रमणको आशंकामा त्यहाँका स्वास्थ्य संस्थाहरुले उपचार गर्न अस्वीकार गरेपछि परिवारजनले पटना लगेका थिए । 

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले संक्रमित व्यक्ति हाल पर्सामा नभई, पटनामा आइसोलेसनमा राखिएको जानकारी दिए । बस्नेतका अनुसार उनको संक्रमण परिवारमा समेत फैलिएको आशंकामा अन्य सदस्यलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।