काठमाण्डौ । वीरगञ्ज उपमहानगरपालिकाको कार्यालयले विभिन्न १४ पदहरुमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने भन्दै योग्य उम्मेद्वारबाट दरखास्त आह्वान गरेको छ । 

आइतबार आवश्यकता सम्बन्धी सूचना प्रकाशित गर्दै उपमहानगरपालिका कार्यालयले रिक्त १४ वटा पदमा ३७ जना जनशक्ति मागेको हो । 

उपमहानगरले सबैभन्दा धेरै नायव सुब्बा पदमा १५ जना कर्मचारी मागेको छ । यो पदमा मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र उत्तीर्ण गर्नेहरुले आवेदन दिनसक्ने छन् । कुल १५ मध्ये खुल्लातर्फ ८, महिला, आदिवासी जनजाति र मधेशीतर्फ २/२ जना तथा दलिततर्फ १ जना मागिएको छ । 

यसैगरी, उपमहानगरपालिका कार्यालयले एकजना आन्तरिक लेखा परीक्षण अधिकृतका लागि समेत दरखास्त आह्वान गरेकोछ । व्यवस्थापन वा वाणिज्य संकायमा स्नातक गरेकाहरुले यो पदमा आवेदन दिन सक्नेछन् । 

कानून अधिकृत, योजना अधिकृत र कम्प्युटर अधिकृत जस्ता पदहरुमा समेत १/१ जना मागिएको छ । ती तीन पदका लागि क्रमशः कानूनमा स्नातक उतीर्ण, जुनसुकै बिषयमा स्नातक उतीर्ण र सम्बन्धित बिषयमा स्नातक उतीर्णले आवेदन दिन सक्ने जनाइएकोे छ । 

सिभिल तर्फ सव इञ्जिनियर पदमा ५ जना मागिएको छ । सम्बन्धित बिषयमा प्रमाणपत्र तह उतीर्णले यो पदका लागि आवेदन दिन सक्ने बताइएको छ । 

चारजना कम्प्युटर सहायक मागिएको छ र यो पदमा प्रमाणपत्र तह उतीर्ण गरी ६ महिनासम्म कम्प्युटर तालिम लिएको हुनुपर्ने बताइएको छ । 

उपमहानगरपालिका कार्यालयले २ जना शिक्षक र शिक्षिका पनि मागेको छ । यी दुवै पदमा आवेदन दिन चाहनेसँग प्रमाणपत्र तह उतीर्ण भएको हुनुपर्नेछ । 

रेञ्जर(पाँचौ)मा समेत दुई जना मागिएको छ । यो पदका लागि पनि सम्बन्धित बिषयमा प्रमाणपत्र तह उतीर्ण हुनुपर्ने उल्लेख छ । हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, धारा मिस्त्री, अनमी, अहेब जस्ता सबै पदमा १/१ जना मागिएको छ । हेल्थ असिस्टेन्ट, स्टाफ नर्स र धारा मिस्त्रीका लागि सम्बन्धित बिषयमा प्रमाणपत्र तह उतीर्ण हुनुपर्ने र अनमी र अहेबका लागि सम्बन्धित बिषयमा १५ महिने तालिम लिएको हुनुपर्ने उल्लेख छ । 

अधिकृतस्तरका सबै पदका लागि परीक्षा दस्तुर रु. १००० लाग्ने तोकिएको छ भने अनमी र अहेबको परीक्षा दस्तुर ३ सय र बाँकी अन्य सबै पदको परीक्षा दस्तुर ४ सय रुपैयाँ तोकिएको छ  ।

इच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मिति(आइतबार)देखि १ महिनाको अवधिमा र दोब्बर दस्तुर तिरेर सो पछिको ७ दिनभित्रमा आवेदन दिनसक्नेछ । 

आवश्यकता सम्बन्धी बाँकी जानकारी समाचारको तल राखिएको फोटोमा डबल क्लिक गरेर लिन सक्नुहुनेछ ।