काठमाण्डौ। डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लिमिटेडले वीरगन्ज तरकारी तथा फलफूल  बजारमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ। 

क्यूआर हस्तान्तरण कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक डा राजनकृष्ण पन्त र वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले संयुक्त रुपमा क्यूआर कोड सेवाको सुरुआत गरेका हुन्। क्यूआर कोड सेवा सुरु भएसँगै वीरगन्ज तरकारी तथा फलफूल बजारमा तरकारी तथा फलफूल किन्न जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी पसल सञ्चालकलाई सीधै खातामा भुक्तानी गर्न सक्नेछन्। 

आफूले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकका साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै सुविधाका कारणले गर्दा क्यूआर कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ। यही कुरालाई मध्यनजर गर्दै बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ।  

स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको बैंकले हालैमात्र नेपाली कमर्सियल बैंकिङ इतिहासमा पहिलोपटक आफ्नै मोबाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाइनमार्फत खाता एवं मुद्दति खाता खोल्नेलगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको छ।