काठमाण्डौ । पोखराबाट जोमसोमका लागि उडेको १५ मिनेटदेखि हराइरहेको तारा एयरको विमानमा अर्का पाइलट समेत यात्रारत रहेका खुलेको छ । 

यति एयरलाइनस्थित स्रोतका अनुसार चालक दलका तीन सदस्य बाहेक यति एयरलाइन्सकै अर्का पाइलट वसन्त लामा समेत सो विमानमा सवार थिए  

सो विमानमा ६ विदेशीसहित कुल २२ जना यात्रु रहेका छन् । 

पाइलट लामा आइतबार बिहान मात्रै जहाज उडाएर विदा मनाउन भन्दै सोही विमानमा जोमसोम जाँदै थिए । 

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले सो जहाजमा पाइलट लामा समेत रहेका पुष्टि गरे । उनका अनुसार जोमसोम जानुअघि लामाले चारवटा उडान भरिसकेका थिए । 

हराइरहेको भनिएको बिमान नै विहान उडाएका लामापछि अर्का सिनियर पाइलट प्रभाकर घिमिरेले उडाएका समेत खुलेको छ । 

हराइरहेको सो जहाजमा चालक दलतर्फ सहपाइलट उत्सव पोखरेल र एयरहोस्टेज क्रिस्मी थापा पनि रहेकी छिन् । 

सो विमानका पाइलट घिमिरेको मोवाइलमा घण्टी गइरहेको छ । सोही मोवाइललाई ट्रयाक गर्दै खोजी कार्य अगाडि बढिरहेको छ । 

दिउँसो २ः५२ मा आएको ताजा सूचनाअनुसार लेते प्रहरी चौकीबाट एउटा टोली टीटी टावर क्षेत्रमा पुगेको छ । त्यहाँबाट बाक्लो हुस्सु लागेका कारण केही पनि नदेखिएको प्रहरी सहायक निरीक्षक कुमार केसीले जानकारी दिएका छन् । उनका अनुसार अहिले टावर क्षेत्रदेखि केही तल सेनाको हेलिकोप्टर पनि भर्खरै पुगेको छ । हेलिकोप्टर पूरै बादल लागेका कारण माथि आउन सकिरहेको छैन । आसपासको सोही क्षेत्रमा हराइरहेको विमान भेटिनसक्ने आँकलन गरिएको छ । 

उता, जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले हराइरहेको विमान तथा यात्रुहरुको अवस्था पत्ता लाग्नै लागेको दाबी गरे । आफूहरु दुर्घटनाग्रस्त भएको आशंका गरिएको क्षेत्र नजिकै पुगेको उनले बताए ।