काठमाण्डौ  । वेस्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको देवः विकास बैंकले सोमबारबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । 

देवः विकास बैंकलाई वेस्टर्न डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकले गत असार २५ गते अन्तिम स्वीकृति दिएको थियो । राष्ट्र बैंकबाट वेष्टर्न डेभलपमेन्ट बैंक प्राप्ति हुनेरगर्ने अन्तिम दिनसम्म कायम रहेको सम्पुर्ण सम्पत्ति, दायित्व, तथा अन्य संभावित दायित्वहरुको प्राप्त गर्ने संस्था देवः विकास बैंकले व्योहोर्नु पर्ने गरी प्राप्तिको स्वीकृति पाएको हो। 

राष्ट्र बैंकको स्वीकृति प्राप्त भएसँगै देवः विकास बैंककै नामबाट सोमबारदेखि एकीकृत कारोबार सुरु गर्ने बैंकले जनाएको छ। 

एकीकृत कारोबार हुने भएकोले डाटा माइग्रेशन प्रयोजनको लागि आज असार २९ गते आइतबार एक दिनको लागि दुबै बैंकको सम्पुर्ण कारोबार बन्द रहेको छ। 

प्राप्ति पश्चात बैकको केन्द्रिय कार्यालय हाल देवः विकास बैंकको केन्द्रिय कार्यालय रहेको काठमाडौंमै रहनेछ भने बैंकको नाम देवः विकास बैंक रहनेछ।

देवः ले वेस्टर्नलाई १ः१ अनुपातमा प्राप्ति गरेको हो। एकीकृत कारोबारपछि बैंकको चुक्ता पूँजी ३ अर्ब १७ करोड ७१ लाख रुपैयाँ पुग्नेछ।