काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमीटेडले कोरोना प्रकोपका कारण स्थगन गरेको वार्षिक साधारणसभाको नयाँ मिति तोकेको छ । 

कम्पनी संचालक समितिको असार ३ गते बसेको १४९ औं बैठकले उच्च सतर्कता अपनाई सामाजिक दूरी समेत कायम गरेर कम्पनीको स्थगित आठौं वार्षिक साधाणसभा असार १९ गते शुक्रबार गर्ने निर्णय गरेको छ । 

शुक्रबार बिहान ११ः३० बजे काभ्रेको बनेपा नगरपालिका वडानम्बर १४, साँगास्थित कम्पनीकै केन्द्रीय कार्यालयमा स्थगित साधारणसभा आह्वान गरिएको हो । 

यसअघि वोमीले चैत १६ गतेका लागि वार्षिक साधारणसभा आह्वान गरेको थियो । कोरोना नियन्त्रणका लागि चैत ११ गतेदेखि नै लकडाउन लगाइएपछि सो सभा अनिश्चितकालका लागि स्थगित गरिएको थियो । 

सधारणसभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम २०७६ असार मसान्तसम्म कायम चुक्तापूँजीको २५ प्रतिशत बराबरको बोनस सेयर  हाल कायम सेयरधनीलाई वितरण गर्न स्वीकृति प्रदान गर्ने तथा बोनस सेयरको हदसम्म जारी पूँजी तथा चुक्तापूँजी वृद्धि गर्ने विशेष प्रस्ताव स्वीकृत गर्ने बताइएको छ । 

संचालकको बैठक भत्ता पुनरावलोकन, अन्य संस्थालाई गाभ्ने वा गाभिने लगायतका विषयमा निर्णय गर्ने सबै अधिकारको अख्तियारी संचालक समितिलाई दिने, आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने, संचालक समितिले सिफारिस गरेबमोजिम बोनस सेयर वितरण गर्दा लाग्ने कर प्रयाजनका लागि २०७६ असार मसान्तमा कायम चुक्तापूँजीको १.३१६ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने, संस्थापक सेयरधनीको तर्फबाट ४ र सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ संचालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव समेत साधारणसभामा पेश हुने बताइएको छ ।