काठमाण्डौ । मर्जर प्रक्रिया टुंग्याउन वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था लिमिटेडले एकै दिन वार्षिक साधारणसभा डाकेका छन्। 

दुवै संस्थाको हिजो सोमबार छुट्टछुट्टै बसेको सञ्चालक समितिको बैठकले यही पुस २८ गते वार्षिक साधारणसभा डोकेका हुन्।

वोमी लघुवित्तले आफ्नो नवौँ वार्षिक साधारणसभा काभ्रेको साँगास्थित लहरी खर्क पार्टी प्यालेसमा बिहान ११ बजेबाट सुरु हुने गरी डाकेको छ। त्यस्तै ग्रामीण स्वयंसेवक लघुवित्तले पनि सर्लाहीको हरिवनस्थित ग्रामीण स्वयंसेवक समाजको सभाहलमा बिहान ११ बजेदेखि नै आफ्नो तेस्रो वार्षिक साधारणसभा डोकेको छ।

दुवै सभाले वोमी र ग्रामीण स्वयंसेवक लघुवित्तबीचको मर्जर प्रक्रियालाई स्वीकृति दिन मर्जर समितिबाट निर्धारित १ः१ सेयर स्वाप रेसियो पनि अनुमोदन गर्नेछ । 

वोमी लघुवित्तको आर्थिक वर्ष २०७६/७७ बो बोनस सेयर वितरणपछि चुक्तापुँजी ३६ करोड १२ लाख २ हजार ४०० रुपैयाँ कायम हुन आउँछ । ग्रामीण स्वयंसेवक लघुवित्तको २०७७ असारसम्म चुक्तापुँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ। दुवै संस्था आपसमा गाभिएपछि चुक्तापुँजी ४० करोड ३२ लाख २ हजार ४०० रुपैयाँ कायम गरी एकीकृत कारोबार सुरु हुनेछ। त्यसपछि नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार रहने गरी ग्रामीण स्वयंसेवक लघुवित्तको संस्थापक सेयरधनीले राखेको कल इन एड्भान्समा रहेको ८७ लाख ४२ हजार रुपैयाँलई ग्रामीण स्वयंसेवक लघुवित्तकै संस्थापक सेयरमा गाभेर जम्मा चुक्तापुँजी ४१ करोड १९ लाख ४४ हजार ४०० रुपैयाँ पुग्नेछ।

यसैगरी वोमी लघुवित्तको सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित ३० प्रतिशत बोनस सेयर अनुमोदन गर्नेछ। बोनस सेयर जारी र ग्रामीण स्वयंसेवक लघुवित्त गाभिएपछि जारी पुँजी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

वोमीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि पुस १५ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यद्यपि मर्जर प्रक्रियाका लागि वोमी लघुवित्तको धितोपत्र कारोबार नेप्सेले रोक्का गरेको छ।