काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई सरकारी राजस्वबाहेक अन्य कुनै पनि शुल्क नबुझाउन आग्रह गरेको छ। 

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेसँग केही संस्थाले पैसा लिएको गुनासो आउने क्रम बढेपछि सचेत गराइएको मन्त्रालयले जनाएको छ। 

विज्ञप्तिमा व्यक्तिगत श्रम स्वीकृति लिएर जानेलाई कसैले भ्रम वा दबाबमा पारी गैरकानुनी रकम माग गरेको अवस्थामा सरकारलाई जानकारी गराउनसमेत आग्रह गरिएको छ। कानुनविपरीत कसैले वैदेशिक रोजगारीमा जानेसँग ठगी गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने पनि विज्ञप्तिमार्फत चेतावनी दिइएको छ। 

विज्ञप्तिमा संस्थागत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा जान चाहनेलाई आफू जान खोजेको देश, कामको प्रकृति, आफूसँग भएको सीप, रोजगारदाताले उपलब्ध गराउने सेवा सर्तबारे बुझेरमात्र जान आग्रह गरिएको छ। वैदेशिक रोजगारीमा जाँदा सकेसम्म संस्थागत रुपमा दर्ता भएका संस्थाबाट कानुनले तोकेको शुल्क बुझाउन र कुनै कम्पनीले बढी पैसा मागेको खण्डमा रकम बुझाएको प्रमाण लिनसमेत विज्ञप्तिमा आग्रह गरिएको छ।