काठमाण्डौ । पछिल्लो समय केही वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्धती निक्षेपको ब्याजदरमा ‘प्राइस वार’ सुरु गरेका छन् । 

राष्ट्रबैंकले दिएको निर्देशनअनुसार निक्षेपको समीश्रण मिलाउन कतिपय बैंकहरुले व्यक्तिगत मुद्धती निक्षेपमा ९ प्रतिशतसम्म ब्याज अफर गरेपछि यसले सेयर बजारका लगानीकर्ताहरुलाई भने त्रसित बनाएको छ । लगानीकर्ताहरुले ब्याजदर बढाबढको खेलले फेरि पनि मुद्रा तथा पूँजीबजार अस्थिर हुने हो कि भन्ने चिन्ता व्यक्त गर्न थालेका छन् । 

निषेधाज्ञा खुलेपछि नै केही बैंकले आकर्षक ब्याजदर अफरसहित स्किमहरु सार्वजनिक गरेपछि लोनको माग बढेर स्रोत तान्ने विगतका वर्षहरुको झै प्रतिस्पर्धा सुरु भएको हो कि भन्ने धेरैलाई परेको छ । तर, यथार्थ त्यस्तो होइन । बैंकर तथा विज्ञको भनाईलाई आधार मान्ने हो भने अहिले व्यक्तिगत मुद्धति निक्षेपमा केही बैंकहरु प्रतिस्पर्धामा उत्रिएर आकर्षक ब्याज अफर गर्नुसँग तरलता अभाव वा यस्तै कुनै कारण जोडिन्न । यसकारण ब्याजदर फेरि बढेर सेयर बजारमा असर पर्ने हो कि भन्ने चिन्ता लिनु बेकार रहेको विज्ञ बताउँछन् । 

तर, पूर्व बैंकर तथा विश्लेषक अनलराज भट्टराईका अनुसार कुनै बैंकले अधिक तरलता भएको अवस्थामा ब्याजदर बढाउँछ भने त्यो बैंकको आन्तरिक व्यवस्थापनका लागि हो ।  ‘अहिले ४० खर्ब हाराहारी डिपोजिटको मार्केट हो । हाम्रोमा २ खर्ब भन्दा बढी डिपोजिट भएको बैंक दुर्लभ पाइन्छ । कुनै एउटा बैंकमा कुल डिपोजिटको ५ प्रतिशत पनि डिपोजिट नहुने भएकाले कुनै असर गर्र्दैन, तर सोही बैंकको नाफामा भने असर पार्छ ।’ उनले भने–‘नबिल बैंककै पनि १६० अर्ब हाराहारी मात्रै छ । ४० खर्बमा ५ प्रतिशत २ खर्बले ओभरअलमा कुनै असर पार्दैन । बैंकको डिपोजिट मिक्सलाई करेक्सन गर्नका लागि ब्याजदर बढाइएको हुनसक्छ । यसले मार्केटलाई कुनै असर गर्दैन ।’

बुधबार साँझ मात्र व्यक्तिगत मुद्धति निक्षेपमा ९ प्रतिशत ब्याज अफर गरी दशैं अफरको नाममा नयाँ स्किम सार्वजनिक गरेको नवील बैंकका डिजिएम मनोज ज्ञवालीले पनि व्यक्तिगत मुद्धतीतर्फ ब्याजदर बढ्दैमा सेयर बजारलाई कुनै असर पार्न नहुने प्रष्ट पारे । ‘ब्याजदर बढाउनु भनेको लिक्वीडीटी क्राइसिस भएर मात्र होइन नि । लिक्वीडीटी बजारमा २०० अर्बभन्दा धेरै छ । बैंकिङको अहिले समस्या भनेको चाहिँ राष्ट्र बैंकले सीसीडी बढाएर ८५ प्रतिशत पुर्याएको छ । डिपोजिटको मिक्स मिलाउनुपर्नेछ । यहीकारण यस्तो भएको हो।’

भट्टराई र ज्ञवालीको विश्लेषण हेरौं विस्तृतमा:

अनलराज भट्टराई 
अहिले राष्ट्र बैंकले डिपोजिट संकलन वा स्रोत संकलनका निम्ति निर्देशन दिएको छ । कल डिपोजिटलाई १० प्रतिशतमा झार्नुपर्ने र डिपोजिटको मिक्स पनि मिलाउनुपर्नेछ । हाम्रो बैंकिङ सेक्टरमा कल डिपोजिटको मात्रा १० प्रतिशतभन्दा माथि छ । १६ प्रतिशतको हाराहारीमा कल डिपोजिट छ । नबिल बैंक, स्टाण्डर्ड चार्टड बैंक लगायत बैंकका १० प्रतिशतभन्दा माथि छ । अगष्टमा पनि नबिल, चार्टर्ड लगायतका १० प्रतिशतभन्दा माथि छ, त्यसैले डिपोजिटलाई २०७८ असारमसान्तसम्म मिक्स गर्नुपर्छ । 

यस्तो बेलामा कर्पोरेट डिपोजिट निकाल्न सकिँदैन । कर्पोरेट डिपोजिटलाई पनि २०७८ असार मसान्तभित्र ५० प्रतिशतभन्दा माथि हुु्नु भएन । २०७८ असार मसान्तभित्र कर्पोरेट डिपोजिटलाई पनि ५० भन्दा माथि पुर्याउन नपाइने व्यवस्था छ । अब यो समय नजिकिसकेकाले बैंकहरुले डिपोजिट मिक्स गर्नेतर्फ ध्यान दिएका छन् । 

अहिले समय एकदमै ठीक छ । यो समयमा बैंकहरुले अरुको एफडी तान्न सजिलो छ । न्यूनतम सेभिङको दरभन्दा भन्दा ०.५ मात्र बढी गर्न पाइयो भनेपछि सेभिङको पनि बढाउनुपर्यो । यसको अर्थ बैंकिङ सिस्टमलाई ध्यान नदिई आफ्नो बैंकको क्षणिक स्टाबिलीटी र  क्षणिक डिपोजिट मेनेज गर्नका लागि डिपोजिट रेट बढाउँदा यसले नराम्रो असर पार्छ वित्तीय क्षेत्रमा । मिक्स मेनेजमेन्ट पहिलेदेखि नै भयो । जस्तोः राष्ट्र बैंकले विगत २ वर्षदेखि १० प्रतिशतभन्दा बढी कल डिपोजिट र ५० प्रतिशतभन्दा बढी संस्थागत डिपोजिट राख्ने या नराख्ने रटान लगाएको पनि २–३ वर्ष हुन लाग्यो । जब अन्तिम अवस्था आयो अनि बैंक आफैं मिलाउने सोचाइ हाबी भयो । यसलाई ‘अनफेयर ट्रेड प्राक्टिस’ भनिन्छ ।

र, स्प्रेड रेटलाई पनि साढे ४ प्रतिशतमा ल्याउनुपर्यो । अब फेरि स्प्रेड रेट बढी भयो भने अरु पेनाल्टीको कुुरा आयो । स्प्रेड रेट कममा ल्याउन पनि सेभिङ रेट बढाउनुपर्यो । कर्जाको ब्याजदर घटाए पनि निक्षेपको रेट घट्छ नि ।  निक्षेपमा ब्याजदर बढाएर स्प्रेडरेट घटाउने कि कर्जामा ब्याजदर घटाएर स्प्रेडरेट घटाउने, दुईवटै तहमा लाग्नुपर्छ । 

बैंकहरुले ब्याजदर जोखिम व्यवस्थापनका लागि ब्याजदर परिवर्तन गर्छन् भने इकोनोमिक भ्यालू अफ इक्विटी(इभीइ) गणना गर्नुपर्छ । यो गणना गर्दा विभिन्न पारामिटर हेरिन्छ । यिल्ड कर्भ, बेसिक रिस्क, रिइन्भेष्टमेन्ट रेट, ग्रोथ रेटको विश्लेषण गरिन्छ । यसलाई एडप्ट इस्टिमेट गर्ने चलन बैंकहरुमा छ, यसबाट इन्ट्रेस्ट वार सुरु हुन्छ  । यसबाट निक्षेपकर्ता, ग्राहक र बैंक कसैलाई पनि फाइदा हुँदैन । त्यसैकारण यसलाई ‘अनफेयर ट्रेड प्राक्टिस’ भनिन्छ । ब्याजदर परिवर्तनको कुरा धेरै नै सेन्सेटिभ हुन्छ । मेरो विचारमा गत वर्षको ब्याजदर र अहिलेको ब्याजदरमा तात्विक भिन्नता छैन । हाम्रो बजारलाई सेलर मार्केट भन्छौं। डिमान्ड मार्केट नै छैन यहाँ । लोन लिन मान्छेको डिमान्डमा मार्केट छैन । यो बरोअर्स मार्केट नभई बैंकर्स मार्केट हो ।

मनोज ज्ञवाली
व्यक्तिगत मुद्धतीतर्फ ब्याजदर बढ्दैमा सेयर बजारलाई कुनै असर पार्नु हुँदैन । ब्याजदर बढाउनु भनेको लिक्वीडीटी क्राइसिस भएर मात्र होइन नि । लिक्वीडीटी बजारमा २०० अर्बभन्दा धेरै छ । बैंकिङको अहिले समस्या भनेको चाहिँ राष्ट्र बैंकले सीसीडी बढाएर ८५ प्रतिशत पुर्याएको छ । डिपोजिटको मिक्स मिलाउनुपर्नेछ । कर्पोरेट र इन्डिभिजुअलको डिपोजिट मिलाउनुपर्छ । कल डिपोजिटको रेट र स्प्रेड ४.४ मा राख्नुपर्नेछ । पोहोर सालका १२–१३ प्रतिशतका एफडीहरु त अहिले परिपक्व भए, हुँदैछन् पनि । त्यतिखेर १२ प्रतिशत हाराहारी एफडीमा राखेकाहरु फ्रस्टेड हुन्छन् । डिपोजिटर फ्रस्टेट नहोस् , डिपोजिट मिक्स, स्प्रेडको व्यवस्थापन लगायतका विभिन्न पारामिटर्स र रिक्वायरमेन्टका कारण पनि बैंकहरुले आ–आफ्नो रणनीति लिएका हुन् । डिपोजिट क्राइसिस भएर ब्याजदर धेरै दिएको होइन । समग्र बैंकहरुको अहिले पनि सीसीडी रेसियो ७५ प्रतिशत पनि छैन । तरलता अभावकै कारण मारामार हुने अवस्था छैन । एक/दुई वटा बैंकहरुले ल्याएको अफर भनेको चाहिँ बैंकको आन्तरिक रणनीति हो । बैंकको एउटा इन्डिभिज्वल रणनीतिले असर पार्ने हुँदैन, मार्केटले फरक पार्नु पर्यो । मार्केटले फरक पार्नु भनेको तरलता संकुचनले नै हो न कि बैंकका निजी रणनीतिले ।