काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका संघसंस्थाहरुमा नेतृत्व चयनका लागि चुनावी प्रक्रिया स्वाभाविक भए पनि त्यसलाई जित वा हारका रुपमा लिन नहुने बताएका छन्। 

सप्तरी उद्योग वाणिज्य संघको ११ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघसहित जिल्ला तथा नगर उद्योग वाणिज्य संघमा सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्नुपर्ने र त्यसो हुन नसके पनि निर्वाचनको भोलिपल्ट देखि नै एकताबद्ध रुपमा अघि बढ्नुपर्नेमा जोड दिए।

आफूसँगै निर्वाचनमा प्रतिस्पर्धा गरेका पूर्वउपाध्यक्ष किशोर प्रधानकै हार्दिकतापूर्ण आमन्त्रणका कारण आफू संघको साधारणसभामा आएको उल्लेख गर्दै उनले निर्वाचनले एकजनालाई मुख्य जिम्मेवारी दिए पनि अर्कोको आवश्यकता र भूमिका जरुरी हुने बताए। 

ढकालले महासंघसहित जिल्ला नगर उद्योग वाणिज्य संघमा निर्वाचनबाट नेतृत्व चयन भए पनि आर्थिक मुद्दामा एकढिक्का हुनुपर्ने बताए। संघका साधारणसभामा नेतृत्व चयनसँगै व्यावसायिक गतिविधि विस्तारका सम्भावनाका विषयमा छलफल हुनुपर्ने उनको भनाइ छ। 

साधारणसभामा आमन्त्रित व्यवसायीसँग बीटूबीलगायतका कार्यक्रम गर्न पनि ढकालले सुझाव दिए। 

ढकालले आफूहरुले ७७ जिल्लाकै व्यवसायीलाई महासंघको केन्द्रीय नेतृत्वसँग जोड्ने प्रयास गरेको उल्लेख गर्दै सम्भावना भएका क्षेत्रमा महासंघ पदाधिकारी र काठमाण्डौका ठूला व्यावसायिक घरानालाई लगानीका लागि उत्प्रेरित गर्ने काम आफूहरुले गरिरहेको बताए। 

महोत्तरीको गौशालामा कागज उद्योग स्थापनाको काम सुरु गरेको उल्लेख गर्दै ढकालले १ वर्षभित्रमा उद्योग सञ्चालनमा ल्याइने जानकारी दिए। 

आईएमई समूहका अध्यक्षसमेत रहेका ढकालले चन्द्रागिरीको पर्यटन पूर्वाधारको सफलतासँगै सातवटै प्रदेशमा यस्ता पूर्वाधार निर्माणमा आफूहरु जुटेको जानकारी दिए।