काठमाण्डौ । संघीय राजधानी काठमाण्डौ उपत्यकाका तीन जिल्लामा व्यापार व्यवसाय गर्नेले फ्रन्टलाइनमा खटिने कर्मचारीको साप्ताहिक रुपमा २ पटक कोभिड परीक्षण गर्नुपर्ने भएको छ । 

सबै प्रकारका व्यवसायहरुको अग्रपंक्तिको काउन्टरमा रही काम गर्ने र ग्राहकहरुलाई नियमित सेवा दिने कर्मचारीको सम्बन्धित निकाय वा संस्थाले हप्ताको दुईपटक एन्टीजेन परीक्षण गराई रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई मात्र काममा खटाउनुपर्ने नयाँ आदेश शुक्रबार रातिदेखि लागू हुन लागेको हो । 

शुक्रबार रातिदेखि राजधानीका सपिङ मल, डिपार्टमेन्टल स्टोर, सुपर मार्केट र सबै प्रकारका पसलमा एकपटकमा २० जना भन्दा बढी हुन नहुने, कर्मचारी वा व्यवसायी र सेवाग्राही दुवैको पूर्ण खोप लगाएको कार्ड(मोवाइलमा फोटो भए पनि हुने) हुनुपर्ने नियम समेत लागू हुने जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ । 

पार्टी प्यालेसमा पनि एक पटकमा कुल क्षमताको बढीमा एक चौथाईमा नबढ्ने गरी बढीमा पूर्ण खोप लगाएका २० जनामात्र उपस्थित हुन पाउने नियम समेत लागू हुनेछ । 

यस्तै, जिल्ला प्रशासन कार्यालयहरुले होटलहरुलाई समेत संचालनका लागि विभिन्न मापदण्ड तोकेको छ । 

होटलका कामदारले अनिवार्य रुपमा मास्क, फेस शिल्ड र पञ्जा लगाउनुपर्ने नयाँ आदेश जारी गरिएको छ । 

होटल प्रवेश गर्ने सबै सेवाग्राहीलाई मास्क अनिवार्य गरिएको छ भने कुनै सेवाग्राही मास्क नलगाई आएमा होटल व्यवस्थापकले रु. ५ लिएर मास्क उपलब्ध गराउनुपर्नेछ । 

होटलमा प्रवेश गर्नका लागि पनि पूर्ण खोप लगाएको कार्ड अनिवार्य हुनुपर्नेछ । 

होटल चेकइन गर्दाको अवस्थामा वा चेकइन गरेको २४ घण्टाभित्र आफ्नो होटलमा बास बस्ने प्रत्येक ग्राहकको एन्टीजेन परीक्षण गर्ने, त्यसपछि प्रत्येक ७२ घण्टामा एन्टीजेन परीक्षण गर्ने र त्यसको विवरण डिसीसीएमसीलाई उपलब्ध गराउनुपर्ने नयाँ आदेशमा उल्लेख छ ।