– रेखा चन्द

काठमाण्डौ । नेपालीको महान चाड दसैँ आजबाट सुरु भइसकेको छ। 

काठमाण्डौका मुख्य व्यापारिक केन्द्रहरुमा सामान खरिद गर्ने सर्वसाधारणको बाक्लो भीड लागेको छ। विशेषगरी न्युरोड, महाबौद्ध, भोटेबहाल, इन्द्रचोकलगायतका क्षेत्रमा लत्ताकपडा किनमेल गर्नेहरुको अचाक्ली भीड बढेको छ। 

बिहानैदेखि लागेको भीड साँझ अबेरसम्म लाग्ने गरेको त्यहाँको व्यापारीहरुको भनाइ छ। तर, व्यापारीहरु भने यस वर्ष निराश देखिन्छन्। सर्वसाधारणको भीड बढेअनुुसार व्यापार नभएपछि उनीहरु निराश बनेका हुुन्। 

विगतका दसैँहरुमा जस्तो कारोबारमा उत्साह नदेखिएको व्यापारीहरुको गुनासो छ। 

बानेश्वर, कोटेश्वरलगायतका क्षेत्रमा पनि ग्राहकको भीड बढेको छ। तर, कारोबारको अवस्था भने उस्तै छ।

व्यापार नहुँदा दसैँ नै दशाबराबर भएको असनस्थित कन्या वस्त्रालयका रविकुमार गुुप्ता बताउँछन्। ‘यहाँ मान्छेको चापमात्रै धेरै छ, व्यापार छैन, दसैँ नै दशाजस्तो भइसक्यो’, उनले भने, ‘मान्छेसँग पैसा नै नभएर हो कि किन हो व्यापार एकदमै खत्तम छ।’

अनलाइन डेलिभरीका कारण पनि यो वर्ष सोचेको जस्तो व्यापार नभएको असनका अर्को व्यापारी पशुुपति रौनियार बताउँछन्। ‘भीडभाड बढेअनुुसार व्यापार होलाजस्तो देखिन्छ तर व्यापार पोहोर–परारको भन्दा खस्किँदो अवस्थामा छ’, उनी भन्छन्, ‘अनलाइनले घर–घरमा पुुर्याइदिने हुनाले पनि यहाँको व्यापार घटेको छ।’

महँगी बढेका कारणले पनि व्यापारमा कमी आएको असनमै रहेको सुुदिना लेडिज वेयरका राजकुमार हुुमागाईं बताउँछन्। ‘दसैँ पनि चाँडै भएको र हरेक सामानको भाउ बढेर आउँदा सोचेको जस्तो व्यापार छैन’, उनले भने।