काठमाण्डौ । राष्ट्रियस्तरका विकास बैंकमध्ये मुक्तिनाथ विकास बैंकले आफ्नो व्यापार आक्रामक ढंगले अगाडि बढाइरहेको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणबाट मुक्तिनाथको बिजनेस ग्रोथ अन्य राष्ट्रियस्तरका बैंकको तुलनामा निकै अगाडि देखिन्छ। यो अवधिसम्म निक्षेप र कर्जाको हिसाबले मुक्तिनाथ अगाडि रहेको छ।
दोस्रो त्रैमाससम्म मुक्तिनाथले ९९ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। जब कि निक्षेप संकलनको हिसाबले दोस्रो स्थानमा रहेको गरिमा विकास बैंकको ६५ अर्ब ७५ करोड रुपैयाँ मात्रै रहेको छ। तेस्रो स्थानमा रहेको ज्योति विकास बैंकले ४८ अर्ब २५ करोड रुपैयाँ निक्षेप उठाउन सफल भएको छ।
कर्जा लगानीको हिसाबले पनि मुक्तिनाथ अग्रस्थानमा छ। यो बैंकले ८७ अर्ब ४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। जब कि दोस्रो स्थानमा रहेको गरिमाले ५८ अर्ब ७१ करोड रुपैयाँमात्रै कर्जा लगानी गरेको छ। ४७ अर्ब ७३ करोड कर्जा लगानीका साथ ज्योति तेस्रो स्थानमा छ।
निक्षेप संकलन र कर्जा लगानीमा आक्रामक मुक्तिनाथले दोस्रो त्रैमाससम्म खराब कर्जा दर (एनपीएल) सुधार गर्दै ०.२६ प्रतिशतमा झार्न सफल भएको छ। एनपीएल ०.९६ प्रतिशतका साथ गरिमा दोस्रो र ०.९८ प्रतिशतका साथ शाइन रेसुंगा तेस्रो स्थानमा छन्।
दोस्रो त्रैमाससम्म सर्वाधिक खुद ब्याज आम्दानी गर्ने राष्ट्रियस्तरको विकास बैंकमा पनि मुक्तिनाथ नै अगाडि छ। यो बैंकले १ अर्ब ५३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जब कि खुद ब्याज आम्दानीका हिसाबले १ अर्ब १७ करोड रुपैयाँका साथ गरिमा दोस्रो र ९१ करोड ८४ लाख रुपैयाँका साथ ज्योति विकास बैंक तेस्रो स्थानमा छन्।
समीक्षा अवधिसम्म सर्वाधिक नाफा आर्जन गर्ने विकास बैंकमा पनि मुक्तिनाथ नै अगाडि रहेको छ। यो बैंकले ५९ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।
धेरै नाफा आर्जन गर्नेमा महालक्ष्मी ४५ करोड ६२ लाख रुपैयाँका दोस्रो स्थानमा र ४५ करोड ६२ लाख रुपैयाँका साथ गरिमा तेस्रो स्थानमा छन्।
दोस्रो त्रैमाससम्म मुक्तिनाथ विकास बैंकको ईपीएस २१.३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३०.४५ रुपैयाँ र पीई रेसियो २७.२ गुणा रहेको छ। चुक्तापुँजी ५ अर्ब ६५ करोड रुपैयाँ रहेको बैंकको रिजर्भमा १ अर्ब ४९ करोड रुपैयाँ रहेको छ।
यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २२ करोड २१ लाख रुपैयाँ रहेको छ।
पछिल्लो १० वर्षको लाभांश इतिहासले पनि यो बैंकले लगानीकर्ताहरुलाई उत्कृष्ट प्रतिफल वितरण गरेको देखिन्छ। यो १० वर्षमा बैंकको वार्षिक औसत लाभांश दर झन्डै २८ प्रतिशत रहेको छ। बैंकले अहिलेसम्म सबैभन्दा बढी ५० प्रतिशत र सबैभन्दा कम १५.५१ प्रतिशत लाभांश वितरण गरेको देखिन्छ।
डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न मुक्तिनाथको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिजा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ। बैंकले १६६ शाखा र १८ एटीएम बुथमार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।
त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाका लागि ९८०१११००२२ र कर्जा सेवाका लागि ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।
यो बैंकका मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता, मुक्तिनाथ उत्कृष्ट बचत खाता, मुक्तिनाथ सम्वृद्धि बचत खाता, सुनौलो बाल बचत खाताजस्ता योजना निकै लोकप्रिय रहेका छन्।
दोस्रो बजारमा अन्तिम कारोबार मूल्यअनुसार यो बैंकको प्रतिकित्ता सेयर ४८७ रुपैयाँ कायम भएको छ। आज यो बैंकको सेयरभाउ ६ रुपैयाँले बढेको छ।
10 minutes ago
41 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago