काठमाण्डौ । नेपालकै दुई चर्चित औषधि उद्योगका संचालक र व्यवस्थापनको उच्च तहमा कार्यरत कर्मचारीको गिरफ्तारीको विरोधमा आइतबारदेखि सम्पूर्ण औषधि उत्पादन बन्दको घोषणा गरिएको केही घण्टा नबित्दै पक्राउ परेकाहरुलाई प्रहरीले रिहा गरेको छ । 
 

शुक्रबार पक्राउ परेका औषधि उद्योगका चार सञ्चालक तथा कर्मचारी रिहा भएका हुन् । नेपाल औषधि उत्पादक संघले शनिवार पत्रकार सम्मेलनमार्फत उद्योग बन्द गरी आन्दोलनमा उत्रने चेतावनी दिएपछि उनीहरुलाई प्रहरीले शनिबार राति १० बजे रिहा गरेको हो  । पक्राउ परेकाहरु रिहा भएसँगै संघले उद्योग बन्दको कार्यक्रम फिर्ता लिएको छ  । संघले घटनाको सत्यतथ्य छानबिन र आयोग गठन गरेर मूल्य समायोजन गर्नुपर्ने माग गरेको छ  ।
 

जिल्ला प्रशासन कार्यालय काठमाडौं र महानगरीय परिसर काठमाडौंको टोलीले लोमसका प्रज्वलजंग पाण्डे र प्रबलजंग पाण्डे तथा देउराली जनताका निगमराज अधिकारी र महाप्रबन्धक निलराज आचार्यलाई नियन्त्रणमा लिएको थियो । उनीहरुमाथि औषधिमा कालोबजारी गरेको आरोप लगाइएको थियो । 
 

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल औषधि उद्योग संघ र औषधि उत्पादक संघले शनिवार संयुक्त पत्रकार सम्मेलन गरी सरकारले औषधि उत्पादकमाथि गरेको कारबाहीको विरोध गरेका थिए । औषधि उत्पादक संघले आइतबारदेखि नै कडा आन्दोलनको घोषणा गरेको थियो भने अन्य संघसंगठनले समेत आन्दोलनको कडा चेतावनी दिएका थिए । 
 

औषधि उत्पादक र उद्योगका कर्मचारीलाई पक्राउ गरेलगत्तै महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी विक्रमसिंह थापाले असहज अवस्थाको फाइदा उठाउँदै उद्योगीहरुले औषधिको मूल्यमा मन लागी वृद्धि गरी कालोबजारी गरेका दाबी गरेका थिए । उनले सरकारले तोकेभन्दा २५ देखि १ सय प्रतिशतसम्म मूल्य मनलागी वृद्धि गरी जीवन र मरणको अवस्थामा रहेका बिरामीलाई लुट्ने काम भएको भन्दै यो अपरेशनलाई सफल बनाइछाड्ने घोषणा गरेका थिए । एसएसपीले औषधि उत्पादकले मूल्यमा मनपरी गरेर कालोबजारी गरेको आफूहरुको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँदै शनिवार विदाको दिन परेकोले आइतबार म्याद थपका लागि पठाउने र कालोबजारी ऐन अन्तर्गत मुद्धा दर्ता गर्ने बताएका थिए । तर एसएसपीले मुद्धा दर्ता गर्ने भनेको अघिल्लो रात नै शक्तिकेन्द्रहरुको दवाब र आन्दोलनको चेतावनीपछि पक्राउ परेकालाई रिहा गर्न प्रहरी बाध्य भएको हो । 
 

औषधि उत्पादन नै बन्द गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री समेतको दवाबमा एसएसपी उनीहरुलाई छाड्न बाध्य भएका हुन् । स्रोतले भन्यो । एसएसपी विक्रमसिंह थापाले कालोबजारीविरुद्ध प्रमाणसहित प्रस्तुत हुँदा समेत काम गर्ने वातावरण नबनाइएको भन्दै नजिकाहरुसँग असन्तुष्टि पोखेका छन् । ‘प्रमाणको आधारमा हामीले पक्रियौं, उद्योगी व्यापारीको संगठनले आन्दोलनको चेतावनी दिएकै कारण कानून तल पर्नुपर्ने अवस्था सिर्जना भयो ।’ उनले भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो–‘पक्राउ परेपछि हामीलाई हाम्रो काम गर्न दिइएन, उनीहरुले कालोबजारी नगरेको पुष्टि हुन्थ्यो भने हामी इज्जतका साथ रिहा गथ्र्र्यौ, तर अनुसन्धान गर्ने पर्याप्त समय नदिई हामीमाथि दवाब पर्यो, काम गर्न नसकिने अवस्था सिर्जना गरियो।’
 

पक्राउ परेर रिहा भएपछि उद्योगी प्रवलजंग पाण्डेले कुन कारणले आफूहरुलाई पक्राउ गरियो र छाडियो भन्ने बिषय विक्रमसिंह थापालाई नै सोध्न भन्दै फोन काटिदिए ।