काठमाण्डौ । सेयरमा लगानीको आकर्षणसँगै बजारको आकार पनि बढेको छ । लगानीकर्ता र बजार बढेका कारण पछिल्लो समय नेपाल धितोपत्र बोर्डको सिफारिसमा अर्थ मन्त्रालयले कारोबारको साबिकको समयमा एकघण्टा थप गरिसकेको छ । 

सेयर बजारलाई व्यवस्थित गर्नका लागि कारोबार प्रणाली, समय र अन्य विविध पक्षमा आमूल सुधारको प्रयास भइरहेको बेला अहिले पनि बजार भने हौवाको भरमा बढिरहेको वा घटिरहेको हुन्छ । नियोजित रुपमा चलाइएको हल्ला र निश्चित समूहको योजनाबाट बजारमा कुनै निश्चित कम्पनी वा समूहको सेयरमा उछाल आउने वा मन्दीको ट्रेण्ड समेत देखिइने गरेको छ । यसले चलाखहरुले त फाइदा लुटेकै छन्, सेयर बजारको बिषयमा कम जानकार लगानीकर्ता निकै ठूलो समस्यामा पर्ने गरेका छन् । सेयर बजारमा लगानीको बिषयमा थाहा नपाउँदा कसैले उचालेको वा कान फुकेकै भरमा लाखौ लगानी गर्ने र करोडपति हुने सपना देखेर सेयर बजारमा छिर्नेहरु रोडपति बनेर फर्किएका उदाहरण पनि प्रशस्तै छन् । तर सेयर बजारमा लगानी गर्दा केही सूत्र यस्ता छन्, जसमा ध्यान दिए लगानी डूब्दैन । बरु तपाईं रातारात करोडपति बन्न सक्नुहुन्छ । 

हामीले नियामक नेपाल धितोपत्र बोर्डको सहयोगमा लगानीका १२ सूत्र तयार गरेका छौ । यदि तपाई धितोपत्र(सेयर, ऋणपत्र, सामूहिक लगानी योजनाको ईकाई आदि)मा लगानी गर्दै हुनुहुन्छ भने लगानीअघि निम्न कुराहरुमा विशेष ध्यान दिनुहोस् ।  

धितोपत्र बजारमा समय–समयमा उतारचढाव आउनसक्ने भएकोले धितोपत्रमा लगानी गर्दा उपयुक्त सूचना लिई संयमित तथा विवेकशील भएर मात्र लगानीको निर्णय लिनुहोस् ।  

धितोपत्रमा गरिने लगानीमा प्रतिफल तथा जोखिम दुवै हुने हुँदा हल्ला, अनावश्यक प्रचार–प्रसार वा कसैको बहकाउमा नलागी बजार तथा कम्पनीको बास्तविक बस्तुस्थिति बुझेर आफ्नो स्वविवेकमा नै लगानी सम्बन्धी निर्णय गर्नुहोस् । साथै आफ्नो जोखिम बहन गर्नसक्ने क्षमताको मूल्याङ्कंन समेत गर्नुहोस् । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा सूचीकृत धितोपत्रमा लगानी गर्दा सम्बन्धित कम्पनीको कार्य सम्पादन स्थिति, धितोपत्रको मूल्यमा प्रभाव पार्नसक्ने संवेदनशील सूचना जस्तै : लाभांश घोषणा, हकप्रद सेयरको घोषणा, व्यबस्थापनमा परिवर्तन, भावी योजना, कम्पनीको आवधिक र वार्षिक  प्रतिवेदनमा उल्लेखित बित्तीय सूचकाङ्कहरु (Earning Per Share, Dividend Per Share, Price/Earning Ratio, Net Worth Per Share), पँुजीकोष अनुपात, निस्क्रिय कर्जा अनुपात आदि), धितोपत्रको मूल्य प्रवृत्ति, कम्पनीको साधारणसभाको निर्णय(माइन्यूट) जस्ता महत्वपूर्ण कुराहरुको अध्ययन गर्नुहोस् । यस्ता सूचना तथा गतिविधिहरु निरन्तर रुपमा नेप्सेको वेबसाइट (www.nepalstock.com),  सम्बन्धित कम्पनीको वेबसाइट तथा विभिन्न आर्थिक पत्रपत्रिकाहरुमा प्रकाशित हुने गरेको छ । साथै कम्पनीसँग सम्बन्धित उद्योग क्षेत्रको समेत अवस्थाको अध्ययन गर्नुहोस् ।

धितोपत्र बजारलाई आधुनिकीकरण गर्ने क्रममा मिति २०७२ माघदेखि धितोपत्रहरुको दोश्रो बजारको कारोबार, नामसारी तथा राफसाफ पूर्ण अभौतिक रुपमा (Full Demat) मात्र हुने भएको र प्राथमिक बजारमा सार्वजनिक रुपमा निष्काशन गरिने धितोपत्रमा लगानी गर्दा काठमाडौं उपत्यकाभित्र २०७३ श्रावणदेखि र अन्य स्थानमा २०७३ माघदेखि हितग्राही खाता (Demat Account) अनिवार्य गरिएको हुँदा, सिडिएस एण्ड  क्लियरिङ कम्पनी लिमिटेड(सिडिएससी) तथा निक्षेप सदस्यसँग सम्पर्क राखी तोकिएको ढाँचाको ग्राहक परिचय विवरण(KYC Form) अनिवार्य रुपमा भरी हितग्राही खाता(Demat Account) खोलेर धितोपत्र खरिद बिक्री कारोवार गर्नुहोस् । आफूले खरिद गरेको धितोपत्र समयमै आफ्नो खातामा जम्मा भए/नभएको ध्यान दिनुहोस् । 

धितोपत्र बजारमा देशको समग्र आर्थिक तथा राजनीतिक स्थितिको प्रत्यक्ष प्रभाव पर्ने भएकाले धितोपत्रमा लगानी गर्दा यसप्रति समेत सजग रहनुहोस् । 

धितोपत्र कारोबारको क्रममा रकमको लेनदेन गर्दा बैंकमार्फत मात्र गर्नुहोस् । धितोपत्र करोवार बापत धितोपत्र दलालले लिने शुल्क सम्बन्धमा धितोपत्र व्यवसायी नियमावली हेरी जानकारी राख्नुहोस् । 

लगानी विविधिकरणले (Investment Diversification)  लगानीमा हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हुँदा लगानी विविधिकरणमा ध्यान दिनुहोस् । 

लगानीकर्ताको अधिकार तथा जिम्मेवारी सम्बन्धमा धितोपत्र सम्बन्धी ऐन–नियम, कम्पनी ऐन तथा अन्य सम्बन्धित ऐन–नियमहरुको साथै नेपाल धितोपत्र बोर्डले गरेका व्यवस्थाहरुबारे जानकारी राख्नुहोस् । धितोपत्र सम्बन्धी ऐन–नियमहरु बोर्डको वेबसाइट वा बोर्डका गतिविधि प्रकाशन गर्ने वेबसाइट(bizshala.com) लगायतका वेबसाइट हेर्नुहोस् । 

प्राथमिक बजारमा सार्वजनिक रुपमा निष्काशन गरिने धितोपत्रमा लगानी गर्दा धितोपत्र निष्काशनकर्ता कम्पनीको आह्वानपत्र, विवरणपत्र अध्ययन गरी कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय स्थिति( नेट वर्थ, नाफा नोक्सान स्थिति आदि), लगानी योजना, जोखिम पक्ष, क्रेडिट रेटिङको स्तर जस्ता महत्वपूर्ण कुराहरुको विश्लेषण गर्नुहोस् । 

धितोपत्रको प्राथमिक बजारमा लगानी गर्नुअघि उक्त धितोपत्र, बोर्डमा दर्ता भए–नभएको तथा दोश्रो बजारमा लगानी गर्दा नेप्सेमा सूचीकृत भए–नभएको बारेमा जानकारी राख्नुहोस् । साथै नेपाल स्टक एक्सचेञ्जबाट सूचिकरण खारेजी भएका तथा सूचीकृत नभएका पब्लिक लिमिटेड कम्पनीहरुको धितोपत्रहरु ओटिसी(OTC) बजारबाट कारोवार गर्न सकिने व्यबस्था भएको हुँदा सो बारे जानकारी राख्नुहोस् । 

धितोपत्रको दोश्रो बजारमा कारेबार गर्दा बोर्डबाट इजाजत प्राप्त र नेप्सेको सदस्यता लिएको धितोपत्र दलाल व्यवसायीमार्फत मात्र गर्नुहोस् । 

पुँजीबजार सम्बन्धी नीति, नियम तथा निर्देशनहरुले धितोपत्रको मूल्यमा असर पार्ने भएकाले सुसूचित निर्णयका लागि बोर्ड, नेप्से, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय तथा बिमा समितिको वेबसाइट हेर्ने गर्नुहोस । 

धितोपत्रमा लगानी सम्बन्धी कुनै जिज्ञासा वा गुनासाहरु भए सम्बन्धित धितोपत्र व्यवसायी, निष्काशनकर्ता तथा सूचिकृत कम्पनी, सिडिएससी, नेप्से वा बोर्डमा सम्पर्क राख्नुहोस् ।