काठमाण्डौ । अस्पतालहरुमा शय्याको उपलब्धता सहज हुन्जेलसम्म काठमाण्डौ उपत्यकामा कडा लकडाउनको सम्भावना कम रहेको देखिएको छ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले दैनिक कोरोना संक्रमण दर औसत अहिलेजस्तै रहेमा र अस्पतालहरुमा शय्याको उपलब्धता सहज हुन्जेलसम्म कडा लकडाउनको सम्भावना कमै रहेको बताएका हुन्। ‘हाल अस्पतालहरुमा आईसीयू र भेन्टिलेटरको उपलब्धता पनि सहज नै छ’, बिजशालासँग प्रजिअ भट्टराईले भने, ‘जबसम्म दैनिक संक्रमित संख्या अहिलेजस्तै रहन्छ र अस्पतालहरुमा आईसीयू र भेन्टिलेटरको उपलब्धता सहजता रहन्छ तबसम्म कडा वा पूर्ण लकडाउनको सम्भावना छैन।’ 

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको गत साउन २६ गतेसम्म बसेको बैठकले भदौ ८ गतेसम्म उपत्यकामा निषेधाज्ञाको अवधि थप गरेको छ। यो अवधिमा निजी तथा सार्वजनिक सवारीसाधनलाई राति ८ बजेपछि सञ्चालनमा रोक लगाइएको छ।