काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १४ औँ वार्षिक साधारणसभा डाकेको छ। 

कम्पनी सञ्चालक समितिको पुस १ गते (शुक्रबार) बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेलमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले गत आर्थिक वर्ष २०७८–७९ को वितरणयोग्य सञ्चित मुनाफाबाट नगद लाभांश र सेयर प्रिमियमसहित वितरणयोग्य सञ्चित मुनाफाबाट प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा चुक्तापुँजी ३ अर्ब ७८ करोड १० लाख ९ हजार १४.२६ रुपैयाँको १३.३० प्रतिशतले हुन आउने ५० करोड २८ लाख ७४ हजार १९८.९० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७० प्रतिशतले हुन आउने २ करोड ६४ लाख ६७ हजार ६३.१० रुपैयाँबराबरको नगद लाभांश छन्। 

सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रयोजनका लागि उपयुक्त बैंक तथा वित्तीय पहिचान गर्ने, नेपाल राष्ट्र बैंकमा निवेदन दिने, डीडीए गर्न परामर्शदाता, मूल्यांकनकर्ता र लेखापरीक्षक नियुक्त गर्नेलगायतका सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकताअनुसार सोमा थपघट, परिमार्जन, स.शोधन तथा सचउनका लागि सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि छलफल गरी स्वीकृत गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि बैंकले पुस १२ गतेदेखि पुस २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।