काठमाण्डौ । आक्रामक ढंगले बिजनेस ग्रोथ गरिरहेको नबिल बैंकले शाखा विस्तारलाई पनि तीव्रता दिने भएको छ। 

बैंकले आज एक सूचना प्रकाशित गरी २० स्थान शाखा कार्यालय विस्तार गर्न भवन भाडाका प्रस्ताव आह्वान गरेको छ। बैंक प्रमुख व्यापारिक तथा बजार क्षेत्रमा शाखा कार्यालय सञ्चानार्थ भुइँ तल्ला वा पहिलो तल्लाको ८०० देखि १ हजार २०० वर्गफिट क्षेत्रफल भएको भवन भाडामा उलब्ध गराउन इच्छुक घरधनीहरुलाई शिलबन्दी प्रस्ताव आह्वान गरेको हो। 

बैंक शाखा कार्यालयको प्रस्तावित स्थानहरुसमेत तोकेको छ। जसमा काठमाण्डौको धुम्बाराही र मूलपानी, ललितपुरको गुसिंगल तथा भक्तपुरको दुवाकोट प्रस्तावित स्थानहरु तोकिएका छन्।

शाखा विस्तारका लागि प्रस्तावित स्थानहरुमा मोरङको विराटनगरस्थित पुष्पलाल चोक, बाराको जितपुर, मकवानपुरको हेटौँडास्थित चिसापानी, कास्कीको पोखरास्थित मालेपाटन र सुनसरीको रामधुनीस्थित झुम्कामा तोकिएको छ। 

यसैगरी बैंकले झापाका गौरीगन्जस्थित गौरीगन्ज, मेचीनगरको काँकरभिट्टा र ककनीको सुरुंगा, धनुषाको छिरेश्वरनाथस्थित महेन्द्रनगर र मिथिलास्थित ढल्केबर पनि शाखा विस्तारका लागि प्रस्तावित स्थानमा बैंकले राखेको छ।

चितवनको राप्तीस्थित भण्डारा, रुपन्देहीका देवदहस्थित खैरेनी र सैनामैनास्थित मुर्गिया, बाँकेको खजुरास्थित खजुरा, सल्यानको शारदास्थित सितलपाटी र कैलालीको बिलैरीस्थित बिलैरी बजारमा शाखा विस्तारका लागि नबिल बैंकले भाडाको घर खोजेको छ। 

प्रस्तावित भवनहरुमा पानी, बिजुली तथा पार्किङको सुविधासहित घटीमा ६ मिटर चौडाइको मोटर बाटो हुनुपर्ने सर्त बैंकले राखेको छ। त्यस्तै अन्य सर्तमा भवन सडक विस्तार योजनामा नपरेको, भूकम्प प्रतिरोधात्मक भवनलाई प्राथमिकता, भवनको भुइँ तल्लामा एटीएम तथा जेनेटर राख्नका लागि स्थान उपलब्ध, शाखा कार्यालय सञ्चालानार्थ घटीमा १५ वर्षका लागि भवन उपलब्ध गराउनुपर्ने र बैंकले घरभाडा भुक्तानी गर्दा प्रचलित कानुनअनुसार सम्पूर्ण करकट्टी गरिनेजस्ता छन्। 

शिलबन्दी प्रस्तावमा घरधनीहरुले भवन निर्मित जग्गाको जग्गाधनी प्रमाणपत्र पूर्जाको प्रतिलिपि, भाडामा दिन चाहेको भवन रहेको स्थानको पूर्णविवरण, भवनको स्वीकृत नक्सा, भवनको निर्माण सम्पन्न भएको प्रमाणपत्र, फोटो (पिलर सिस्टमबाट बनेको र बैंक सञ्चालन गर्न उपयुक्त हुनुपर्ने तथा घरधनी र सम्पर्क व्यक्तिको नाम, सम्पर्क टेलिफोन नम्बर, ठेगाना र नागरिकताको प्रतिलिपिजस्ता कागजपत्र पेस गर्नुपर्ने हुन्छ।