काठमाण्डौ । साबिकका पाँच विकास क्षेत्रका पाँचवटा विकास बैंक गाभिएर नेपाल गाम्रीण विकासको नामबाट अस्तित्वमा आएको राष्टियस्तरको माइक्रोफाइनान्स कम्पनी शाखा सञ्जाल बिस्तारमा वाणिज्य बैंक भन्दा पनि तगडा देखिएको छ । 

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको देशका अधिकांश जिल्लामा उपस्थिति भए पनि शाखा सञ्जालको हिसाबले नेपाल ग्रामीण विकास बैंक भन्दा पछि नै रहेको पाइएको हो । नेपाल ग्रामीण विकास बैंकको आर्थिक वर्ष २०७३/७४ को असार सम्ममा ५३ जिल्लामा १ सय ९२ वटा शाखा कार्यालयहरु बिस्तार भएका छन् । जबकि राष्ट्रिय वाणिज्य बैंकको शाखा सञ्जाल संख्या १ सय ८२ मात्र छ । शाखा सञ्जालको हिसाबले सबैभन्दा बढी बिस्तार भएको बैंक कृषि विकास बैंक हो, जसको देशभर २ सय ५३ वटा शाखा छन् । 

धेरै शाखा सञ्जालको हिसाबले दोश्रो स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंकलाई अहिले नै उछिनेको ग्रामीण विकास बैंकले चालुु आर्थिक वर्षको असार मसान्तभित्र थप ७ वटा जिल्लामा आफ्नो कार्यक्षेत्र बिस्तार गर्ने योजना लिएको छ । 

सोमबार बुटवलमा आयोजित नेपाल ग्रामीण विकास बैंकको तेश्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्कीले प्रगति विवरण प्रस्तुत गरेका थिए । सो क्रममा उनले बैंकको प्रधान कार्यालय बुटवल उप–महानगरपालिका वडा नं.–१२, रुपन्देहीमा रहेको र  विराटनगर, जनकपुर,  बुटवल, नेपालगञ्ज र धनगढीमा क्षेत्रीय कार्यालयहरु रहेका जानकारी दिए । बैंकले ग्रामीण क्षेत्रमा बसोवास गर्ने विपन्न वर्गका समुदाय विशेष गरी महिलाहरुको आर्थिक तथा समाजिक अवस्था सुदृढ गर्न विभिन्न प्रकारका लघुवित्त सेवाहरु प्रदान गर्दै आईरहेको र हाल यस बैंकको अधिकृत पूँजी १ अर्ब, जारी पूँजी ६५ करोड ५० लाख र चुक्ता पु“जी ५५ करोड ७५ लाख रहेको उनले बताए । 

सीइओ कार्कीका अनुसार बैंकले आर्थिक वर्ष २०७३/७४ को असार मसान्तसम्ममा २ लाख १०  हजार    ग्राहक सदस्य र १ लाख ३५ हजार ऋणी सदस्यहरुलाई लघुवित्तीय सेवा प्रवाह गरेको छ।

२०७४ आषाढ मसान्तसम्म यस बैंकको कुल लगानीमा रहेको कर्जा रु. ७ अर्ब ७२ करोड र बचत परिचालन रु. २ अर्ब २६ करोड पुगेको छ । २०७३ आषाढको तुलनामा २०७४ आषाढमा बैंकको कूल लगानीमा रहेको बाँकी कर्जा २०.४१ प्रतिशत, बचत परिचालन २४.०७ प्रतिशतले बृद्धि भएको उनले जानकारी दिए । 

अपरिष्कृत वित्तीय विवरण अनुसार आ.व.२०७३/०७४ को अवधिमा  बैंकले रु १ अर्ब ६० करोड ६० लाख आम्दानी  र रु. १ अर्ब ३४ करोड ७४ लाख  खर्च गरी रु. २५ करोड ८६ लाख  सञ्चालन मुनाफा(कर तथा बोनस अघिको) आर्जन गरेको छ ।  यो अवधिमा कर्मचारी खर्च शीर्षकमा, खासगरी उपदान कोष खर्चमा उल्लेख्य बृद्धि भएको कारणले  आम्दानीमा उल्लेख्य बृद्धि भएता पनि सोही अनुरुप सञ्चालन मुनाफामा वृद्धि हुन नसकेको बताइएको छ । 

तलव वृद्धि, उपदान रकममा वृद्धि हुनु लगायतका कारणले कर्मचारी खर्चमा झण्डै ५८ प्रतिशतले वृद्धि भएको छ, यो चिन्ताको बिषय रहेको सीइओ कार्कीले सो क्रममा बताएका थिए । साथै बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण सापटको व्याजदरमा उक्त अवधिमा बृद्धि भई व्याज खर्चमा समेत उल्लेख्य वृद्धि भएको उनको भनाई थियो । 

बैंकले चालु आ.व.२०७४/७५ को अवधिमा कर्जाको पोर्टफोलियोमा रु ९.५० अर्ब पुर्याउने र बचतमा रु ३.१५ अर्ब पुर्याउने योजना बनाएको उनले बताए । 

सो समारोहमा बैंक सञ्चालक समितिका अध्यक्ष माणिकरत्न शाक्य, सदस्य हरिशरण केसीले बैंकले गरेको कार्य प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा यस बैंकले अझ सक्षमताका साथ काम गर्दै जानुपर्नेमा जोड दिएका थिए ।

सो समारोहमा बैंकको विराटनगर, जनकपुर, बुटवल, नेपालगञ्ज र धनगढी क्षेत्रीय कार्यालयमा कार्यरत पाँच/पाँच  जनाका  दरले २५ जना र प्र्रधान कार्यालय बुटवलमा कार्यरत एकजना गरी जम्मा २६ जना कर्मचारीलाई सम्मान तथा पुरस्कार पनि प्रदान गरिएको थियो ।