काठमाण्डौ । देशकै टप निर्जीवन बीमा कम्पनी, शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले मर्जर र एक्वीजिसनको बाटोमा समेत अग्रसर हुने घोषणा गरेका छन् । लगानीकर्ताहरुले 'समयमै विवाह नगरे कन्या राम्रो पाइन्न' भनेपछि उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । 

सोमबार काठमाण्डौको थापाथलीस्थित शिखर बिज सेन्टर परिसरमा आयोजित शिखर इन्स्योरेन्सको १५ औं र १६ औं वार्षिक साधारणसभामा सेयरधनीहरुले राखेको जिज्ञासाको जवाफ दिंदै उनले त्यस्तो घोषणा गरेका हुन् । 

सेयरधनी ज्यूहरुले मर्जर र एक्वीजिसनको बाटोतर्फ पनि अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभएको छ । ‘समयमै विवाह नगरे राम्रो कन्या पाइन्न भन्ने उहाँहरुको चिन्ता देखियो, यो समयसापेक्ष छ ।’ प्रमुख कार्यकारी अधिकृत पाण्डेले भने–‘तर समयको माग, नियामकको नीति र मर्जर हुने कम्पनीको इच्छा तथा निर्णयका आधारमा हामी अगाडि बढ्छौं ।’ 

सीइओ पाण्डेले प्रादेशिक रुपमा पनि शिखर इन्स्योरेन्सले आफ्नै भवनहरु निर्माण गर्ने समेत सो क्रममा जानकारी गराएका थिए । नयाँ बीमा पोलिसीहरु ल्याउनेदेखि कोभिडका  कारण सुस्ताएको अन्तराष्ट्रिय लेभलको व्यापारलाई समेत अगाडि बढाएको उनले बताएका छन् । 

यस्तै, उनले कम्पनीलाई नयाँ उचाई दिने र अझ प्रतिफलमुखी बनाई अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले कृषि क्षेत्रलाई प्राथमिकता दिएर अगाडि बढ्ने समेत सो क्रममा बताएका थिए । 

यसैबीच, संचालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५\७६ र २०७६\७७ को संचालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । 

यस्तै, ती दुवै आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरणउपर छलफल गरी सोलाई समेत पारित गरेको छ । 

सभाले २०७७\७८ का लागि लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने तथा आर्थिक वर्ष २०७६÷७७ को लेखापरीक्षकको नियुक्ति पनि अनुमोदन गरेको छ । 

संचालक समितिबाट प्रस्ताव गरिएको २०७७ असार मसान्तसम्म कायम सेयर पूँजीमा ३६.१ प्रतिशत(आ.व. २०७७\७८ मा बाँडफाँड गरिएको हकप्रद सेयरपश्चात कायम हुने सेयर पूँजीमा २७.७६९प्रतिशत हुने)का दरले ३८१, ६८९, १२७(रु. अठ्तीस करोड सोह्र लाख उननब्बे हजार एकसय सत्ताइस मात्र)को बोनस सेयर पारित गरेको छ । यस्तै, सो बोनस सेयरको कर प्रयोजनार्थ २०७७ असार मसान्तसम्म कायम सेयर पूँजीमा १.९ प्रतिशत(आ.व. २०७७\७८ मा बाँडफाँड गरिएको हकप्रद सेयर पश्चात कायम हुने सेयर पूँजीमा १.४६२ प्रतिशत हुने)का दरले नगद लाभांश रु. २००८८९०१(रु. दुई करोड अठासी हजार नौसय एक मात्र) वितरणको प्रस्ताव समेत पारित गरेको छ ।

साधारणसभाबाट कम्पनीको अधिकृत पूँजी वृद्धि गरी रु.४,०००,०००,०००(रु चार अर्ब) पुर्याउने प्रस्ताव समेत पारित भएको छ । सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावली पनि संसोधन गर्ने अजेण्डा पारित भएको छ । 

प्रस्तावित बोनस सेयर पश्चात कायम हुने कम्पनीको चुक्तापूँजीमा संस्थापक सेयरधनीको हिस्सा ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४० प्रतिशतबाट ४९ प्रतिशत पुर्याई संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात ५१ः४९ कायम गर्ने प्रस्ताव समेत पारित भएको छ । 

बोनस सेयरपश्चात कायम हुने कम्पनीको चुक्तापूँजीको ३० प्रतिशतको दरले हकप्रद सेयर जारीको प्रस्ताव समेत साधारणसभाबाट पारित भएको छ । 

यसैगरी, साधारणसभाबाट सर्वसाधारण सेयरधनी समूह ‘ख का सेयरधनीबाट निर्वाचित हुने २ संचालकका लागि निर्वाचन समेत भएको छ । दिनेशबज्र बज्राचार्य र स्कन्दकुमार अमात्ययो समूहबाट संचालकमा निर्वाचित भएका छन् । 

साधारणसभामा संचालक समितिका अध्यक्षले नेपालमा अहिलेसम्म शिखर इन्स्योरेन्स सबै हिसाबले अगाडि रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यसरी अगाडि बढ्ने र नम्बर वान कम्पनीको प्रतिष्ठा कायम गरेर अगाडि बढ्ने बताए ।