काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्नो १३ औं वार्षिक साधारणसभा आगामी पुस ७ गते शुक्रबार आह्वान गरेको छ । 

कम्पनीले पुस ७ गते शुक्रबार बिहान ११ गते थापाथलीस्थित शिखर विज सेन्टरमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा वार्षिक साधारणसभा आह्वान गरेको हो । 

साधारणसभाले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५२६३१६ प्रतिशत नगद लाभांश वितरण गर्ने संचालक समितिको निर्णय पारित गर्नेछ । 

यस्तै, कम्पनीको १२ औं वार्षिक साधारणसभाबाट साधारण सेयरको निश्कासन गरी सर्वसाधारण सेयरधनीको सेयर हिस्सा ४० प्रतिशत पुर्याउने निर्णय भए पनि धितोपत्र बोर्डले त्यसमा स्वीकृति नदिएपछि १३ औं साधारणसभाले सो निर्णयलाई खारेज गर्नेछ । यो बिमा कम्पनीले एकवर्षको अन्तरालमै दोश्रो पटक एफपीओ जारी गरी पैसा बटुल्न खोजेपछि धितोपत्र बोर्डले त्यसमाथि रोक लगाएको थियो । 

यस्तै, कम्पनीका चुक्तापूँजीमा सर्वसाधारण सेयरधनीको हिस्सा बढाउन संस्थापक सेयरको २० प्रतिशत सेयर(कुल सेयरको १४ प्रतिशत) सर्वसाधारण सेयरमा परिणत गरी सर्वसाधारण सेयरको हिस्सा काल कायम ३० प्रतिशतबाट ४४ प्रतिशत कायम गर्ने प्रस्ताव समेत विशेष प्रस्तावको रुपमा साधारणसभामा पेश हुनेछ । 

कम्पनीले साधारणसभा प्रयोजनका लागि मंसिर २२ गतेदेखि बुक क्लोज गर्नेछ । यसको अर्थ मंसिर २१ गतेसम्म कम्पनीको सेयर खरीद गरेकाहरुले मात्र साधारणसभामा सहभागी बन्न र लाभांश प्राप्त गर्न सक्नेछन् । २१ गते दोश्रो चरणको चुनाव भएकोले त्यसभन्दा अघि सेयर कारोबार हुने दिनसम्म यो कम्पनीको सेयर खरीद गरिसक्नुपर्नेछ ।