काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले मर्जरको प्रक्रियालाई त्यागेर आफैँ पुँजी वृद्धि गर्ने निर्णय गरेको छ। यसका लागि कम्पनीले हकप्रद निष्कासन गर्ने तयारी गरेको छ। 

कम्पनीले आईएमई जनरल इन्स्योरेन्स लिमिटेड (आईजीआई) र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड (एचजीआई) सँगको मर्जका लागि धेरै चरणका छलफलहरु चलाइसकेको थियो। मर्जर छलफल उत्कर्षमा पुगेकै बेला सञ्चालक समितिले सो बाटो त्यागी आफैँ पुँजी वृद्धि गर्ने निर्णय गरेपछि हकप्रद निष्कासनको तयारीमा जुटेको हो। 

कम्पनीले अधिकृत पुँजी वृद्धि गरी ४ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव यही चैत ९ गते हुने कम्पनीको १५ औँ र १६ औँ वार्षिक साधारणभाबाट पारित गर्नेछ। कम्पनीले गत आर्थिक वर्षको बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो। 

यसअघि शिखर इन्स्योरेन्सले १०ः३ को अनुपातमा हकप्रद बिक्री गरेको थियो। यो हकप्रदपछि कायम चुक्तापुँजीको २७.७६९ प्रतिशतले हुन आउने बोनस सेयर वितरणको प्रस्ताव पनि आउँदो वार्षिक साधारणसभाबाट कम्पनीले पारित गर्दैछ। 

यो बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको ३० प्रतिशतको दरले पुनः हकप्रद निष्कासन गर्ने निर्णय कम्पनीले गरेको हो। यसरी बोनस सेयर र हकप्रदपछि कम्पनीको चुक्तापुँजी २ अर्ब २८ करोड रुपैयाँमाथि पुग्नेछ। 

प्रस्तावित बोनस सेयरपश्चात कायम हुने चुक्तापुँजीमा संस्थापक सेयरधनीको हिस्सा ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४० प्रतिशतबाट ४९ प्रतिशत पुर्याई संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अनुपात ५१ः४९ कायम गर्ने प्रस्ताव पनि कम्पनीले आउँदो वार्षिक साधारणसभामा पेस गर्नेछ।