काठमाण्डौ। शिखर इन्स्योरेन्सले मौसम सूचकांकमा आधारित स्याउखेतीको बीमा गरेका कर्णालीका किसानलाई २ करोड ५५ लाख रुपैयाँबराबरको दाबी रकम भुक्तानी गरेको छ।

माथिल्लो कर्णालीका जुम्ला, कालिकोट र मुगु जिल्लाका गरी १ हजार ३९१ जना किसानलाई २ करोड ५५ लाख रुपैयाँ दाबीभुक्तानी हस्तान्तरण गरिएको हो। जुम्लामै सबैभन्दा बढी ७०० बिरुवाको बीमा गराउने पातारासीका किसान अधिराज बिष्टले १ लाख ८९ हजार रुपैयाँबराबरको भुक्तानी रकम बुझेका छन्। 

भुक्तानी पाएपश्चात बिष्टले शिखर इन्स्योरेन्सले समग्र कर्णालीका किसानको मर्म र सहायताका लागि खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै कृतज्ञता पनि व्यक्त गरेका छन्। 

जुम्लामा ७४७ जना किसानले ४९ हजार बिरुवाको बीमा गराएका थिए। जुम्लामा मात्र प्रतिबिरुवा २७० रुपैयाँका दरले १ करोड बीमा दाबी रकम भुक्तानी गरिएको छ। 

यसैगरी प्रतिबिरुवा २७० रुपैयाँका दरले कालिकोटका ३२६ किसानले ७० लाख २० हजार दाबीभुक्तानी पाएका छन्। कालिकोटमा ३२६ जना किसानले २ हजार ६०० बिरुवाको मौसमी सूचकांकमा आधारित स्याउ बीमा गराएका थिए। 

यस्तै मुगुका ३१८ जना किसानले १ हजार ९०० बिरुवाको बीमा गरेबापत ५१ लाख रुपैयाँबराबरको भुक्तानी पाएका छन्।

शिखर इन्स्योरेन्सको शाखा कार्यालय जुम्लाले बीमा गरेका किसानलाई घरदैलोमै गएर क्षतिपूर्ति रकम अर्थात दाबी भुक्तानी दिएको बीमा कम्पनीका कर्णाली इन्चार्ज ऋषिराम पाण्डेले बताए। कर्णालीका किसानहरुले गत वर्ष नै स्याउ फल्ने बेला स्याउ खेतीको बीमा गरेका थिए। सोही बीमा गराएका कारण उनीहरुले अहिले दाबीभुक्तानी पाएका हुन्। 

असिना र सुख्खा खडेरीले क्षति पुर्याएको तथा स्याउ उत्पादन घट्दा घाटा व्यहोरेका किसानले बीमा रकम पाउँदा राहत महसुस गरेका छन्। 

शिखर इन्स्योरेन्सले ५ वर्षअगाडि मौसमी सूचकांकका आधारमा गरिने बीमामा स्याउ खेतीका लागि नै भनेर कर्णाली प्रदेशमा यो बीमा पोलिसी सुरु गरेको थियो। गएको ३ वर्षयता हरेक वर्ष शिखर इन्स्योरेन्सले स्याउ किसानहरुलाई दाबीभुक्तानी गर्दै आइरहेको छ। 

सुरुको वर्ष ४७ जना किसानले स्याउको बीमा गराएका थिए भने गत वर्ष १८ सय किसानले स्याउ खेतीको बीमा गराए। असिना र सुख्खा खडेरीले क्षति पुर्याएका तथा स्याउ उत्पादन घट्दा घाटा व्यहोेरेका किसानले बीमा रकम पाउँदा राहात महसुस गरेका छन्।

आगामी दिनमा शिखर इन्स्योरेन्सले मौसम सूचकांक बीमा योजनालाई विभिन्न जिल्लामा विस्तार गर्ने योजना बनाएको छ।