काठमाण्डौ । निर्जीवन बिमा कम्पनीहरुमध्येको टप शिखर इन्स्योरेन्स कम्पनीले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ झिनो मात्र प्रगति गरेको छ । नाफालाई सामान्य बढाउँदा कम्पनीको जगेडाकोषमा भने पहिरो गएको छ । 

सोमबार प्रकाशित कम्पनीको अपरिस्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा शिखर इन्स्योरेन्सले १९ करोड ६६ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको नाफा १८ करोड १ लाख थियो । 

नाफामा झिनो वृद्धि हुँदा जगेडाकोषमा भने पहिरो गएको छ । अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म २० करोड ३२ लाख रुपैयाँ रहेको कोष खिइएर समीक्षा अवधिमा १२ करोड ५३ लाखमा सीमित बन्न पुुगेको छ । महत्वपूर्ण सूचक जगेडाकोषमा देखिएको भारी गिरावटले कम्पनीको बित्तीय स्वास्थ्य ठीक नरहेको संकेत गर्दछ । 

अघिल्लो वर्ष ५४ करोड ८४ लाखको उचाईमा रहेको बिमा कोष अझ बढेर ७३ करोड ३७ लाख तथा ३ करोड ४६ लाखमा सीमित महाविपत्ति कोष ५ करोड २९ लाखको उचाईमा पुुगेको छ । 

समीक्षा अवधिमा कम्पनीले १ अर्ब ६२ करोड बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आर्जन १ अर्ब ३३ करोडमा सीमित थियो । पुनर्बिमा कमिसनबाट हुने आय १४ करोड ७८ लाखबाट बढेर १८ करोड ३१ लाखको उचाईमा पुुगेको छ । लगानी, कर्जा तथा अन्यबाट हुने आय समेत ४ करोड ४४ लाखबाट वृद्धि भई ६ करोड ६८ लाखको उचाईमा पुुगेको छ । 

समीक्षा अवधिमा शिखर इन्स्योरेन्सले ३५ करोड ८४ लाख बराबरको दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यस्तो भुक्तानी १९ करोड ६७ लाखमा सीमित थियो । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३७.२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८६.२२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३१.३७ गुुणा कायम भएको छ ।