काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश वितरण नगर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले उक्त आर्थिक वर्षका लागि बोनस सेयरलगायतका कुनै पनि प्रकारका लाभांश वितरण नगर्ने निर्णय गरेको हो। कम्पनीले मर्जरमा जाने संकेत गरेको छ। 

गत आर्थिक वर्ष २०७७/७८ को जगेडा कोषमा रहेको रकमबाट बोनस सेयर वितरण गरेर बीमा समितिले कायम गरेको चुक्तापुँजी पुग्ने भए पनि कम्पनीले पुँजी जुटाउने अन्य उपायको खोजी गर्ने भन्दै अहिले बोनस सेयर वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीले यसअघि ३० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो। हकप्रद सेयर बाँडफाँडपछि कम्पनीको चुक्तापुँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुको चुक्तापुँजी साढे २ करोड पुर्याउनुपर्ने निर्देशन दिएको छ। कम्पनीले गत आर्थिक वर्षका लागि बोनस सेयर वितरण यो चुक्तापुँजी पुर्याउन सक्थ्यो तर उसले मर्जर जाने संकेत गरेको छ। 

कम्पनीले व्यावसायिक रणनीतिअनुरुप अन्य कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्तिका लागि प्रक्रिया अगाडि बढाउने भएको छ। मर्जरमा जाने वातावरणको सिर्जना भएमा सोहीअनुसार पुँजी जुटाउने कम्पनीले निर्णय गरेको छ। 

बीमा समितिले तोकेको निर्धारित समयमै न्यूनतम चुक्तापुँजी कायम गर्न सक्ने कम्पनीले जनाएको छ। ‘यद्यपि बीमा समितिबाट जारी गरिएको जोखिममा आधारित पुँजीसम्बन्धी निर्देशिकाको अध्ययन गरी कम्पनीको व्यवसायअनुकूल आवश्यक चुक्तापुँजी सम्बन्धमा कम्पनीले हाल गरिँदै आएको बीमांकीय अध्ययन तथा मूल्यांकनबमोजिम आउँदा दिनमा कम्पनीको चुक्तापुँजीको पर्याप्तता कायम हुने वा नहुने सम्बन्धमा विश्लेषण गर्नुपर्ने देखिएको छ’, सञ्चालक समितिको बैठकमा भएको निर्णयमा भनिएको छ।