काठमाण्डौ । चुक्तापूँजीमा भएको वृद्धिको तुलनामा नाफा बढ्न नसकेपछि शिखर इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ह्वात्तै घटेको छ । 

यो कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड ४८ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा ०.९३ प्रतिशतको मात्र बढोत्तरी हो । 

कम्पनीको चुक्तापूँजी भनेको अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा ३० प्रतिशतले बढेर २ अर्ब २८ करोड रुपैयाँभन्दा माथि पुगिसकेको छ । 

नाफामा राम्रो बढोत्तरी हुन नसक्दा त्यसको प्रभाव प्रतिसेयर आम्दानीमा परेको हो । अघिल्लो वर्षको पहिलो त्रैमासमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ३०.४० रुपैयाँ रहेकोमा २२.३६ प्रतिशतले घटेर समीक्षा अवधिमा २३.६० रुपैयाँ मात्र कायम भएको छ। 

कम्पनीका अन्य सूचकतर्फको प्रगति औसत रहेको देखिन्छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बीमा कोष सामान्य बढी १ अर्ब ४७ करोड पुगेको छ । 

यस्तै, ४४ करोड ५० लाख रहेको बीमा शुल्क आर्जन पनि थोरै मात्र बढी ४५ करोड १८ लाख कायम भएको छ । 

अघिल्लो वर्ष यही अवधिमा १५ करोड ९५ लाख रहेको रिइन्स्योरेन्सबाट आउने कमिसनबापतको आम्दानी यो वर्ष १६ करोड ४३ लाख भएको छ भने लगानी, कर्जा तथा अन्यबाट हुने आय ५ करोड २४ लाखबाट बढेर ७ करोड ५३ लाखको उचाईमा पुगेको छ ।

बीमा शुल्क आर्जनतर्फ १.५४ प्रतिशतको मात्र प्रगति गर्न सकेको कम्पनीले समीक्षा अवधिमा दाबीभुक्तानी भने अघिल्लो वर्षको तुलनामा बढी गरेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा १५ करोड ७२ लाखको दाबीभुक्तानी गरेकोमा यो वर्ष यस्तो रकम बढेर १८ करोड ८७ लाखको उचाईमा पुगेको छ । 

कम्पनीले बिक्री गरेको पोलिसीको संख्या भने बढेको देखिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म १५ हजार ३५९ मा सीमित पोलिसीको संख्या बढेर यो वर्ष २१ हजार ५२१ पुगेको छ । 

अघिल्लो वर्ष यही अवधिसम्म ६३ करोड ८८ लाखमा सीमित रिजर्बको आकार बढेर यो वर्ष ७५ करोड ७१ लाखको उचाईमा पुगेको छ भने समीक्षा अवधिका लागि कम्पनीको प्रतिसेयर नेटवर्थ २०३.५५ रुपैयाँ रहेको छ । 

पहिलो त्रैमासको अन्तिम दिनको बजार मूल्यका आधारमा पीई रेसियो २९.७८ गुणा रहेको छ ।