काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० प्रतिशत हकप्रद सेयर जारी गर्नेसँग मर्जर प्रक्रियामा जाने प्रस्ताव गर्ने भएको छ । 

कम्पनीले साउन २८ गते गर्न लागेको चौधौँ वार्षिक साधारणसभामा यी दुवै अजेन्डा विशेष प्रस्तावका रुपमा राख्न लागेको हो । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको २०८ औँ बैठकले साउन २८ गते साधारणसभा बस्ने निर्णय गरेको हो ।

साधारणसभामा कम्पनीको चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव राखिने छ । सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रास्ताव पारित हुनेछ । 

त्यस्तै कम्पनीले कुनै अन्य बीमा कम्पनीसँग आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सन्दर्भमा समझदारीपत्र तर्जुमा गर्ने, अन्य प्रक्रिया पूरा गरी सोमा हस्ताक्षर गर्ने, सम्पूर्ण चलअचल सम्पत्ति र दायित्व मूल्यांकन गर्न लेखापरीक्षण नियुक्त गर्ने विशेष प्रस्ताव पनि साधारणसभामा राख्नेछ । 
यसैबीच कम्पनीले बीमा समितिबाट जारी बीमकको संस्थागत सुशासनसम्बनधी निर्देशिका २०७५ बमोजिम कम्पनीको सञ्चालक समितिको स्रख्या बढीमा ७ सातजना हुने व्यवस्था कार्यान्वयन गर्ने भएको छ । साधारणसभामार्फत कम्पनीले सञ्चालक समितिमा संस्थापक समूहतर्फका सेयरधनीबाट निर्वाचित ४ जना, सर्वसाधारण सेयरधनी समूहबाट दुईजना र स्वतन्त्र सञ्चालक एकजना रहने प्रस्ताव पारित गर्ने छ । त्यस्तै सञ्चालक समितिमा कम्तीमा एकजना महिला सञ्चालन रहने प्रावधान पनि कम्पनीले साधारणसभामार्फत पारित गर्नेछ । 
साधारणसभामा कम्पनीको आर्थिक वर्ष २०७४/७५ को 
वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु छलफल गरी पारित गरिनेछ ।