-भक्तराज रसाइली
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा यस साताको कारोबारको पहिलो दिन नेप्से इण्डेक्समा झिनो अंकले गिरावट आउँदा कारोबार रकममा भने बढोत्तरी भयो । सूचीकृत कम्पनीहरुका त्रैमासिक वित्तीय विवरण आउने क्रमसँगै नाफा बढी कमाउने कम्पनीहरुमा उचित लाभांश पाउने आकांक्षामा लगानीकर्ताहरु झुम्मिरहेका देखिन्थे । हुन पनि विवेकी लगानीकर्ताले सेयरको मूल्य भन्दा पनि प्रतिफलमा आधारित भई गरेको सेयर लगानीमा घाटा बेहोर्नु पर्दैन  । आजमात्र ३५ करोड रुपैयाँ बढी कारोबार भएको यस दिन बिजशालाको नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’का लागि कमलादी र कमलपोखरीमा रहेका ब्रोकरहाउसहरु चाहरेका थियौं । सेयर बजार माग र आपूर्तिमा आधारित भई निर्धारित हुने हुँदा लगानीकर्ताहरुका मनोविज्ञानलाई जस्ताको तस्तै यससाता पनि उतार्न गइरहेका छौं । 

साताको कारोबारको पहिलो दिन आइतबार ११ बजे कमलादीस्थित मिडास स्टक ब्रोकिङ कम्पनी प्रालिमा पुगेका थियौं । लगानीकर्ताहरु आउने क्रम जारी थियो । त्यहाँ भीड बाक्लिदै गर्दा त्यहाँ रहेका एक लगानीकर्ताले ओरियन्टल होटल पनि खत्तम भएछ भने । एकछिनपछि एक लगानीकर्ताले मार्केट कसैगरी पनि नबढ्ने भयो भन्दै चिन्ता मानिरहेका भेटिए । ‘ऋण थियो यार मैले त घाटामै भएपनि सेयर बेचिदिएँ’ ,एक लगानीकर्ताले पछाडिबाट बोले । उनले अपनाइरहेको यो तरिका नै वास्तवमा हाल केही लगानीकर्ताहरुले भोग्नुपरिरहेको पीडा चित्रित भइरहेको छ । ‘शिवमले पनि तेर्सो पार्यो ’,एक लगानीकर्ताले ठट्यौली पारामा बोले ।त्रैमासिक रिपोर्ट निकालेको शिवमले आज ओरालो यात्रा तय गरेको थियो । केही महिनाअघि शिवम्को सेयरमूल्य सुनियोजित रुपमै १ हजार पुर्याउने बबल सेयर( अनावश्यक मूल्य फूल्याइएको)प्रति बल्लतल्ल सेयर लगानीकर्ताको चेत खुलेको देखियो । शिवम्को प्रतिकित्ता सेयरमूल्य ७ सय रुपैयाँ माथि पुर्याएको बेला बिजशालाले बबल सेयर हो भन्दै निरन्तर लगानीकर्तालाई सचेतसमेत गराएको थियो । त्यहाँ लगानीकर्ताहरु मन्त्रीमण्डल परिवर्तनबारे राजनीतिक चर्चाले समेत स्थान पाइरहेको थियो।

यसपछि हामी कमलादीमै अवस्थित ब्रोकर नम्बर ३३ दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज प्रालितर्फ उक्लियौं । शिवम्को ओरालो यात्रा लागेकोमा त्यहाँ पनि शिवम् घट्यो भन्दै चिन्ता मानिरहेका पायौं । ‘शिवम्को ३ सय ५० तिरै आउला’ ,बीचैमा एक लगानीकर्ताले भने । ‘नेपाल बैंकको सेयरमूल्य त घटेको छैन नि’,अर्का लगानीकर्ताले भने,‘१० नगद र १० बोनस दिने हल्ला छ ।’ हिजो प्रकाशित एनआइसीको मूल्य आज बढिरहँदा उसले प्रकाशन गरेको एक अर्बमाथिको नाफाले समेत उसको मूल्य उकालो लागिरहेको त्यहाँ चर्चा चल्यो । यत्तिकैमा एक महिला लगानीकर्ता हस्याङफस्याङ गर्दै आइन् । ‘अब पुस नलागी मार्केट माथि जाँदैन’ ,उनले दाबी गरिन् । चुनाव( उपनिर्वाचन)पछि त मार्केट बढ्नुपर्ने भन्दै एक पुरुष लगानीकर्ताले जिकिर गरे ।

हामी त्यहीँ मास्तिर रहेको ब्रोकर नम्बर १० प्रज्ञान सेक्युरिटीज पुग्यौं । असरल्ल लगानीकर्ताहरुको बाक्लो जमघट थियो त्यहाँ । ‘बजार झरेपछि कुनै फर्मूलाले काम गर्दैन रहेछ ’,एक लगानीकर्ताले बजार र नेप्से इण्डेक्ससँग तुलना गर्दै भने । करिब २ बज्न लागेको थियो ,५ ६ जनाको एक हुल लगानीकर्ता चिया पिउन भन्दै ब्रोकरहाउसका डिस्प्लेफ्लोरबाट बाहिरिए । केही समयपछि त्यहीँ भेला भएका एक युवा लगानीकर्ताले एसटीसी पनि सीआइटीकै दाममा पुग्ने हो कि भन्दै लख काटिरहेका थिए । बजारमा उपलब्ध थोरै सेयर र वार्षिक २० प्रतिशतबढी नै नियमित लाभांश दिने कम्पनीमा लगानीकर्ताहरुको पनि सो कम्पनीमा बिछट्टै आकर्षण छ । ‘एनआइसी र एनआइबी त बराबर नै पो हुने भयो कि’,एक लगानीकर्ताले डिस्प्ले हेर्दै भने । अब नबिललाई रिजर्भमा नजितेपनि नाफा त एनआइसीले बढाइनै रहेको छ,एक लगानकर्ताले विश्लेषण गरे ।

हामी ब्रोकर हाउस छिर्ने क्रममा कृष्ण पाउरोटी चोकमा रहेको ब्रोकर नम्बर ४४ डाइनामिक मनी मेनेजर्स सेक्युरिटीज उक्लियौं । त्यहाँ पनि शिवमकै चर्चा चल्दै रहेछ । ‘शिवम जहाँको तहीँ आउने भयो’,एक लगानीकर्ताले अड्कल गरे । ‘सेयरको भ्यालू नहुने रहेछ ’, एक महिला लगानीकर्ताले भनिन्,‘२५ सयको सेयर अहिले ३ ४ सय मूल्य छ ।’ ‘ पहिलेको वियरिस त ३ वर्षको मात्र थियो हैन?’,एक लगानीकर्ताले विगत सम्झदैँ भन्छन्, ‘अब त ३ वर्ष कटेन र ? ’ ‘सरकारी नीति आर्थिक सम्वृद्धितर्फ नै लम्कने होस’्,एक महिला लगानीकर्ताले चाहना व्यक्त गरिन् । ३ वटा हाइड्रो बाहेक सबै १ सय मुनि रहने भए भन्दै त्यहाँ रहेका एक लगानीकर्ताले चिन्ता माने ।

यसै क्रममा हामी कमलपोखरीमा रहेको ब्रोकर नम्बर ४० अर्थात् क्रिएटिभ सेक्युरिटीज उक्लियौं । वृद्ध तथा पाका लगानीकर्ताहरु सेयरसँग सम्बन्धित भन्दा पनि अमेरिकी जीवनशैली र अन्य राजनीतिक गफमा मग्न भएको पाइयो । कारोबार समय सकिनै लागेको बेला हामी डिल्लीबजारमा अवस्थित ब्रोकर नम्बर २८ श्रीकृष्ण सेक्युरिटीज पस्यौं । बाक्ले भीड रहेको त्यस ब्रोकर हाउसमा दुई लगानीकर्ता नेवारी भाषामा डिस्प्लेतफै हेर्दै बोलिरहेका पायौं । बीचैमा एक लगानीकर्ताले भने,‘सीसीबीएल(सेन्चुरी कमर्सियल बैंक) पनि बढ्ने हो कि क्या हो?’ बसाइँकै बिटमा एक लगानीकर्ता कारोबार रकम ३५ करोड बढी भएकोमा प्रफूल्ल भेटिए ।