काठमाण्डौ । नेपालकै अग्रणी सिमेन्ट कम्पनी शिवम् सिमेन्ट लिमिटेडले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (हेटौँडा अस्पताल) लाई १९० थान अक्सिजन सिलिन्डरसहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। 

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको दोस्रो भेरियन्टको व्यापक रुपमा प्रभाव परिरहेको यस विषम् परिस्थितिमा देशका विभिन्न अस्पतालमा अक्सिजन, बेड तथा विभिन्न स्वास्थ्य सामग्री अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले उद्योगस्थलस्थित हेटौँडा उपमहानगरपालिको हटियामा अवस्थित हेटौँडा अस्पताललाई १२० थान भरिएका तथा ७० थान खाली अक्सिजनका सिलिन्डर गरी जम्मा १९० थान अक्सिजन हस्तान्तरण गरेको हो। यसका साथै कम्पनीले ३० थान मेडिकल बेड, ५ थान सीसीयू बेड तथा ५ थान उक्त बेडहरुमा जडान गरिने मेडिकल मोनिटरहरु अस्पताललाई हस्तान्तरण गरेको छ।  

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको जनाएको छ। यी स्वास्थ्य सामाग्री कारण यस क्षेत्रका कोरानाका कारण स्वास्थ्य उपचारबाट बन्चित तथा कोरोनाबाट प्रभावित सर्वसाधारणलाई स्वास्थ्य उपचार गर्न पाउने सहज अवस्था सिर्जना भई सहयोग पुग्ने आशा कम्पनीले लिएको छ। 

यसअघि पनि शिवम् सिमेन्ट्सले यस किसिमका महामारी, दैवीप्रकोप, राहत सामग्री, स्वास्थ्य सामग्री, एम्बुलेन्स हस्तान्तरणसहित विभिन्न कार्यहरुमा आफ्नो सामाजिक संस्थागत दायित्व निर्वाह गर्दै आइरहेको छ। 

सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यो सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि उक्त प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ। उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट बन्न सफल भएको कम्पनीको दाबी छ। 

नेपाल गुणस्तर चिह्न ५७२, ४९ तथा  आईएइआई, यूआरएस प्रमाणित आईएसओ सर्टिफिकेट प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ।