काठमाण्डौ । रिलायन्स इन्डस्ट्रिज लिमिटेडका मालिक मुकेश अम्बानी विश्वका शीर्ष १० धनाढ्यको सूचीबाट बाहिरिएका छन्।

रिलायन्सको सेयरमा आइरहेको गिरावटका कारण नेटवर्थ (कुल सम्पत्ति) घट्दा केवल साढे ३ महिनामै यो सूची चौथो स्थानमा पुगेका अम्बानी अहिले ११ औँ स्थानमा झरेका हुन्। हिजो शनिबार सार्वजनिक ब्लुमबर्ग बिलेनियर्स इन्डेक्सअनुसार अम्बानी ८.५६ लाख करोड रुपैयाँ (७२.२ बिलियन डलर) को नेटवर्थका साथ ११ औँ स्थानमा झरेका छन्। 

गत जुलाई १४ मा अम्बानी यो सूचीको छैटौँ स्थानमा पुगेका थिए। त्यतिखेर उनको नेटवर्थ ८.५७ लाख करोड रुपैयाँ थियो । फेरि ८ दिनभित्रै उनको नेटवर्थ १.९३ लाख करोड रुपैयाँ बढेर जुलाई २३ मा १०.५१ लाख करोड रुपैयाँ पुगेको छ। त्यसपछि उनी पाँचौँ स्थानमा उक्लिएका थिए। 

रिलायन्सको सेयरमा शानदार उछालसँगै अम्बानीको नेटवर्थमा तीव्र वृद्धि हुँदा गत अगस्ट ८ मा उनको नेटवर्थ ९.५३ लाख करोड रुपैयाँ पुगेको थियो। त्यसपछि उनी विश्वका शीर्ष १० धनाढ्यको सूचीमा ४ स्थान ओगट्न सफल भएका थिए।

रिलायन्सको सेयरमा अहिले निकै गिरावट आइरहेको छ। गत सेप्टेम्बर १६ मा प्रतिसेयर भारु २३२४.५५ (नेरु ३७१९.२८) कायम भएकोमा नोम्बर २० सम्म आइपुग्दा १८ प्रतिशतले घटेर भारु १८९९.५० (नेरु ३०३९.२) मा झरेको छ। 

यसैगरी एनएसई (नेसनल स्टक एक्सचेन्ज) मा ४५ दिनमा रिलायन्स ग्रुपको बजार पुँजीकरण पनि २५.०८ लाख करोड रुपैयाँबाट ४.७७ लाख करोड रुपैयाँ घटेर २०.३३ लाख करोड रुपैयाँमा सीमित बनेको छ। 

विश्वका धनाढ्याको सूचीको अग्रस्थानमा अमेजनका संस्थापक जेफ बेजोस छन् । उनको कुल नेटवर्थ २१.७१ लाख कोड रुपैयाँ रहेको छ। 

यसैगरी दोस्रो स्थानमा कुल नेटवर्थ १५.१८ लाख करोड रुपैयाँका साथ बिल गेट्स र १४.३५ लाख करोड रुपैयाँ नेटवर्थका साथ एलन मस्क तेस्रो स्थानमा छन्। – एजेन्सी