-रेखा चन्द
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले असार १७ गते (शुक्रबार) वाणिज्य बैंकका सीइओहरुलाई पोखरा बोलाएको छ । 

राष्ट्रबैंकले नेपाल बैंकर्स एसोसिएसनमार्फत सबै सीईओहरुलाई पोखरा बोलाएको हो । 

मौद्रिक नीतिको बिषयमा छलफल गर्ने तथा नेपालको आफ्नै डिजीटल करेन्सी बनाउने लगायतका विषयमा छलफल गर्ने उद्धेश्यसहित राष्ट्र बैंकले यस्तो योजना बनाएको हो । 

नेपाल बैंकर्स एसोसिएसनको व्यवस्थापनमा राष्ट्र बैंकले थालेको नेपालको आफ्नै डिजिटल करेन्सीको विषयमा प्रस्तुतिकरण र छलफल हुनेछ । छलफलसँगै सबै सीईओहरुलाई रिफ्रेस गराउने योजना रहेको छ ।

राष्ट्रबैंकका एक अधिकारीका अनुसार पोखरामा आगामी आर्थिक वर्षको मौद्रिक नीतिको विषयमा समेत छलफल हुनेछ । 

सो कार्यक्रममा गर्भनर महाप्रसाद अधिकारी, डेपुटी गर्भनरहरु बमबहादुर मिश्र, निलम ढुंगाना तिम्सिना र अधिकाशं कार्यकारी निर्देशकलगायत राष्ट्र बैंकका उच्च अधिकारीहरुको सहभागिता रहनेछ । 

यस पटकको मौद्रिक नीतिलाई सबै क्षेत्र, वर्गले तीब्र प्रतिक्षा गरिरहेका छन् । अर्थतन्त्रको वाह्य क्षेत्रमा परेको दवाब, उच्च शोधनान्तर घाटा, व्यापार असन्तुलन, तरलताको चरम अभावलगायतका समस्याले अर्थतन्त्रमा परेको भ्वाङलाई टाल्ने गरी राष्ट्र बैंक कसिलो मौद्रिक नीति ल्याउने तयारीमा छ । यही कारणले पनि पोखरामा सीईओहरुको बोलावटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्यायले डिजिटल करेन्सीको बारेमा छलफलका लागि पोखरा बोलाइएको बताए । ‘डिजिटल करेन्सीको विषयमा छलफल गर्न बोलाईएको हो ।’ उनले बिजशालासँग भने ।