काठमाण्डौ । लघुवित्त कम्पनी र बिमा कम्पनीको शेयरको मूल्यमा देखिएको उछालका कारण बिहीबार समग्र शेयर बजार परिसूचकमा पनि दोहोरो अंकको उछाल देखिएको छ । 
 

नेपाल राष्ट्रबैंकले लघुवित्त कम्पनीको पूँजीवृद्धिको योजना ल्याउने तयारी गरिरहेको बेला लघुवित्तको शेयर खरीदमा आकर्षण देखिएको हो । केही दिनदेखि उच्च दरमा बढिरहेको बिमा कम्पनीको शेयर मूल्यमा समेत बिहीबार राम्रै बढोत्तरी देखियो । 
 

बिहीबार २५ वटा कम्पनीको शेयर मूल्य अधिक बढेपछि सर्किट ब्रेक नै लगाउनुपर्यो । नेप्सेसँगै कारोबार रकम पनि बढेर निकै धेरै उचाईमा पुग्यो । 
 

लघुवित्त र बिमा कम्पनीको बजारमा बोलवाला रहँदा नेप्से परिसूचक एकैदिन ११.४९ को दोहोरो अंकले बढेर १३१८.०३ अंकमा पुगेको छ । बिहीबार बजार खुल्दा १३०६.८१ अंकमा रहेको नेप्से लगातार उकालो लागेर नयाँ विन्दूमा पुगेको हो । 
फष्ट माइक्रोफाइनान्स, कालिका माइक्रो फाइनान्स, आइएलएफसिओ माइक्रो फाइनान्स, लक्ष्मी लघुवित्त, मिथिला लघुवित्त, नागबेली लघुवित्त, निर्धन उत्थान, समिट माइक्रो फाइनान्स, साना किसान विकास बैंक, स्वरोजगार लघुवित्तलगायतका कम्पनीका लगानीकर्ताले ठूलो नाफा कमाएका छन् । सबैभन्दा बढी मिथिला लघुवित्तको सेयर मूल्य प्रतिकित्ता दुई सय आठ रुपैयाँले बढ्यो । अधिकांश लघुवित्तको सेयर मूल्य ५० रुपैयाँ भन्दा बढीले उकालो लाग्यो । उता, हकप्रद घोषणा गरेको नेको इन्स्योरेन्सको सेयरको भाउ पनि निकै बढेको छ । यो कम्पनीको कारोबार पनि ६ करोड ३५ रुपैयाँ पुगेको छ । त्यस्तै नेशनल लाइफ इन्स्योरेन्सको पाँच करोड २३ लाख रुपैयाँको सेयर किनबेच भयो । 

 

१८ लाख ४४ हजार कित्ता शेयरको ४ हजार ४१ वटा कारोबारबाट बिहीबार ९६ करोड ६७ लाख रुपैयाँ पूँजी परिचालन भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । बिहीबार सेन्सेटिभ इण्डेक्स र फ्लट इण्डेक्स क्रमशः १.९५ र ०.९ अंकले बढे । फाइनान्स र अन्य समूहको नेप्से परिसूचक भने रातोमय बन्यो । हाइडोपावर समूहको नेप्से ५५.९२ अंकले बढ्यो ।