-अर्जुन तिमिल्सिना
शेयर बजारको तराजूमा हरहमेशा दुईवटा  चिज हुन्छ ।  जसरी एउटा  तराजूमा दुई पल्ला हुन्छ, त्यसैगरी सेयर लगानीमा पनि दुई चिज, जुन छुट्याउनै नसकिने हुन्छन् । ती हुन् एउटा पल्लामा रिस्क(जोखिम) र आर्को पल्लामा रिटर्न(फाइदा)  ।  

तपाईंले गरेको लगानीमा नाफा भयो भन्नुको अर्थ रिटर्नको पल्ला  बढी हुनु हो ।  यो दुनियाँमा कुनै त्यस्तो  ब्यापार छैन जहाँ तपाईले अलिकति जोखिम नमोली तपाईंलाई फाईदा होस् । कहीँ न कहीँ तपाईंले जोखिम मोल्नैपर्छ  र मात्रै फाईदा हुन्छ ।  

यहाँ तपाईले भन्नुहोला–बैंकमा अथवा सहकारीमा फिक्स डिपोजिट् गरे  बिनाजोखिम हरेक महिना प्रतिफल आउँछ त ! यो हाम्रो सोझो सोचाइ मात्रै हो । नेपाल राष्ट्र बैंकको नियमअनुसार तपाईंले बैंकमा राखेको पैसाको दुईलाख रुपैयाँसम्म मात्रै सरकार जबाफदेही हुन्छ, अरु तपाईंले जोखिम नै लिनु भएको हो ।  

अर्को कुरा बैंकले दियको ब्याज  भनेको तपाईंको पैसाको मुद्रास्फितिलाई हिसाब गरेर दिएको रकम हो ।  अथवा अज सरल भाषामा भन्नु पर्दा गत बर्ष एक हजार रुपैयाँले जति समान आऊथ्यो अहिले त्यत्ति  पैसाले त्यत्ति सामान आउँदैन अर्थात पैसाको अबमूल्यन भयो ।  त्यही हिसाब गरेर नै बैंकले ब्याज दिएको हो, खासमा कुनै प्रतिफल होइन ।  

हामीले महङ्गी बढ्यो भन्छौं, जसलाई नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले मुद्रास्फिति नियन्त्रण गर्ने औजार प्रयोग गर्छ ।  यो भयो पैसाको भ्यालु सम्बन्धी नियम ।  

अब सेयर बजारको बारेमा कुरा गरौं । यहाँ प्रश्न गर्न सक्नु हुन्छ के तपाईंको लेखको हेडिङ जस्तै सेयरको लगानी डबल  हुन्छ त ?  यसको जबाफ भन्दा पहिले म तपाईंलाई   शेयर बजारमा चल्ने केही मिठा प्रसङ्गतिर लग्छु ।  बजारमा एउटा चर्चा निकै चल्छ हेर्नुस् शेयरको लगनी शतप्रतिशत 'डबल' नै हुन्छ ।  यो भनाइ शतप्रतिसत साँचो  हो, तपाईंले बुझ्नुपर्ने कुरा के छ भने  'डबल' दुईथरिका हुन्छन ।  एउटा रुपैयाँको 'डबल' अर्को शेयरको भ्यालु बढेर 'डबल'  ।  'डबल' भने  डबल  नै हो ।  रुपैयाँको 'डबल' भनेको कस्तो भन्नुहोला तपाईंले शेयर किनेपछि भ्यालु घट्दै घट्दै  गएर कुनै-कुनै कम्पनी बजारमा यस्ता पनि छन्, तपाईंसँग शेयरको प्रमाणपत्र त छ, जसको बजारमा कुनै कारोबार नै  छैन अर्थात  कम्पनी टाट पल्टिसक्यो । जस्को एक रुपैयाँको 'डबल'मा होइन सुक्कामा पनि बिक्दैन । अर्को 'डबल' भनेको शेयरको भ्यालु बढ्दै  बढ्दै गएर डबल हुनु हो । सेयरको मूल्य  बढेर डबल  मात्रै होइन तेब्बर अर्थात  दस गुणा, बीस गुणासम्म पनि हुन्छ । कोही पनि लगानीकर्ताले आफ्नो लगानी रुपैयाँको डबल नै होस् भनेर गर्दैन, तर कहिलेकाँही  भइदिन्छ त्यस्तै । मैले यहाँनेर यी सबै कुरा जोड्नुको मुख्य एउटै चुरो हो–सेयरमा सबैभन्दा महत्वपूर्ण विषय के हो त ? सबैभन्दा मुख्य  कुरा कम्पनी छनौट हो ।  तपाईंले राम्रो कम्पनी अर्थात अब्बल छान्नु  भयो भने नाफैनाफा हुन्छ, यदि कमसल छान्नु भयो भने घाटा पनि हुनसक्छ  ।  

मैले यदि सेयरमा नाफैनाफा मात्रै  हुन्छ भनेँ भने त्यो गलत हुन्छ । सेयर बजारमा एउटा यस्तो मनोबिज्ञान हुन्छ कि जब बजार बढ्दै  बढ्दै  जान्छ, फेरि कहिल्यै घट्लाजस्तो लाग्दैन । जब घट्दै घट्दै  जान्छ फेरी कहिल्यै बढ्ला जस्तो लाग्दैन । तर बजार घटेको घट्यै पनि गर्दैन र बढेको बढ्यै पनि गर्दैन ।  बजारको नियम र सुन्दर पक्ष नै यही हो । 

जब नाफाको पल्ला बढ्दै  जान्छ, हामीले जिरो इन्भेस्टमेन्ट पोलिसी अन्तर्गत लगानी झिक्दै पनि जानु पर्छ । अर्थात् सेयर बजारमा अभिमन्यूको चक्रबाट टाढा हुनु ।  

सेयरको भ्यालु  कसरी बढ्छ र कसरी हुन्छ 'डबल' ?
केही लगानीकर्ताको गुनासो के पनि सुनिन्छ भने सेयर बजार भनेको एउटाले कमाउने र एउटाले गुमाउने ठाउँ हो ।  अल्पकालमा घाटामा  भए पनि कम्पनी राम्रो छानेर होल्ड गर्न सके किन्ने र बेच्ने दुबैलाई नाफा पनि हुन्छ । वार्षिक २५ प्रतिशतभन्दा बढी रिटर्न  दिने कम्पनीमा एक न एकदिन बजारमूल्य बढेकै छ ।  

अर्कोतर्फ नाफा–घाटा भन्ने कुरा तपाईंले  गरेको लगानीको समयसीमामा पनि भर पर्छ । तपाईंको लगानीको स्रोतमा भर पर्छ ।  यदि तपाईंले आफ्नो कमाइबाट छुट्याएर अब्बल कम्पनीमा  लगानी गर्नुहुन्छ भने सेयरबाट कहिलै घाटा हुन्न, भलै अल्पकालमा घाटा देखिएला ।  

आज ब्रिटेनको बर्कशायर हाथ्वे कम्पनीलाई हेर्नुहोस्, त्यो कम्पनीले कहिल्यै घाटामा चल्नु परेन ।  नेपालमा   पनि केही राम्रा कम्पनी छन् जुन खोज्न हामीले जांगर चलाउनुपर्छ । त्यस्ता कम्पनीलाई ध्यानदृष्‍टि  अर्थात बाइनाकुलर लगाएर  नै खोज्नु पर्छ ।  

सेयर बजारमा सफल–असफल हुन तपाईं कति सक्रिय हुनु भयो, त्यसमा पनि भर पर्छ । सेयर बजारमा तपाईंले त्यस्तो  चातुर्यता र धैर्यता देखाउनु पर्छ  कि ब्लु चिप कम्पनी। जुनको मूल्य वर्तमानमा अन्डर भ्यालु छ, जहाँ धेरै मान्छेको नजर परेको छैन। तर भबिष्यमा राम्रो मूल्य तिर्न धेरै लगानीकर्ता लालायित हुन्छन् ।  

संसारमा सेयरको मूल्य लगानीकर्ताको मनोबिज्ञानले निर्धारण गर्छ  । अहिले संसारमै केही फ्याक्टरहरुले लगानीकर्ताको मनोविज्ञान बलियो बनाएको छ । अमेरिकामा डेमोक्रेटिक पार्टीले चुनाव जितेसँगै संसारकै लगानीकर्तामा एक किसिमको बलियो मनोबिज्ञान  बनेको छ । यो सँगै संसार हल्लाउने  कोभिड–१९ को खोप बिकास भएसँगै विश्व बजारमा नयाँ विश्वास र माहौल सिर्जना भएको छ । फलस्वरुप सुनको मूल्यमा गिरावट र शेयर बजारमा उछाल  आउन थालेको छ । 

नेपालको सेयर बजारमा पनि त्यसको प्रभाव देखिइसकेको छ । बजारमा केही लगानीकर्ताको गुनासो पनि सुनिन्छ। बजार १७ सय माथि पुग्यो तर राम्रा  र ब्लूचिप कम्पनीको मूल्य अझै बढेको छैन ।  यदि तपाईंले घोडाको दौड हेर्नु भएको छ भने यस्को जबाफ पाइसक्नु भयो ।  एउटा स्वस्थ घोडा सुरुमा बिस्तारै बिस्तारै   दौडेर आफ्नो इनर्जी सदुपयोग  गर्छ, जब दौड जित्नुपर्ने समय आउँछ अनि मात्रै आफ्नो दौडको वास्तविक कला देखाउँछ । पहिला अघि अघि दगुर्नेहरु अन्तिममा पछि पछि पर्दै जान्छन् ।  सेयर बजारमा पनि यस्तै हुन्छ ।  यदि तपाईंले राम्रा कम्पनीलाई नजर दिनुभएको छ भने आत्तिनु पर्दैन ।  अन्तिममा दौड् जित्ने तिनै हुन् ।

अब रह्यो आफूले  गरेको लगानीलाई कसरी दोब्बर बनाउने ? मलाई कम्पनीको धेरै अध्ययन गर्ने फुर्सद र ज्ञान दुवै छैन । यसको केही उपाय छ ?  तपाईंले म्युचुअल फण्डको नाम त सुन्नु नै भएको छ होला, तिनै फण्डमा लगानी गर्ने र अझ अर्को बाठो उपाय छ, ती फण्डले कुन कुन कम्पनीमा लगानी गरेका छन्, तिनीहरुको पोर्टफोलियो हेर्ने र तिनै कम्पनीका सेयर आफूले पनि किन्ने । यो धेरै सजिलो उपाय हो । तपाईंले दुनियाँ ब्यालेन्ससिट केलाई राख्नै परेन ।  मात्रै  तिनीहरुको पोर्ट्फोलियो हेर्नुस् ।  हरेक म्युचुअल फण्डले आफ्नो पोर्ट्फोलियो  आफ्नै वेब पेजमा राखेका हुन्छन ।  

अर्को, लगानीलाई दोब्बर बनाउने उपाय भनेको तपाईंले सानो पूँजी भएको कम्पनीको छनौट गर्नु पनि हो । जस्तो नागरिक लगानीकोष(सीआइटी) ।  कम्पनीको पूँजी सानो, आम्दानी ठूलो भएको यस्ता कम्पनीले भविष्यमा पूँजी बढाउन बोनस अथवा हकप्रद ल्याउँछन् । तर यहाँ ख्याल गर्नुपर्ने कुरा के छ भने बजारको अवस्था वा ट्रेण्ड हेरेर यसमा तपाईले कुनै एउटा विन्दूमा पुगेपछि बेचेर निस्किन पनि सक्नुपर्छ । सेयर बेच्न पनि कला आबश्यक   हुन्छ ।  कुनै बेला २२ सयमा फालाफाल सेयर अहिले ४५ सयमा हारालुछ छ । अनी भएन त दोब्बर ? यस्ता कम्पनी बजारमा अझै छन् जुन हामीले खोजेर लगानी गर्नुपर्छ ।

खासगरी सेयर बजारमा दोब्बर आम्दानी सामान्य हो ।  एकजना पुराना लगानीकर्ताले यो पंक्तिकारसँगको भलाकुसारीमा समुन्द्रपारबाट भनेका छन् कि उनले एचडिएल निकै सस्तो मूल्यमा किनेर दसौ हजार कित्ता राखेका छन् रे, जुन कम्पनीको बजारमूल्य अहिले रकेटको गतिमा बढिरहेको छ । उनले १०० भन्दा कम मूल्यमा किनेको एचडिएलको अहिलेको बजारमूल्यमा तुलना गर्दा कति गुणा भयो होला ? 

सेयर बजारमा राम्रा कम्पनीले दिने नाफाको कुनै सीमा नै हुन्न ।  यथार्थमा भन्ने हो भने सेयर बजारमा नुनको ढिक्का र सुनको ढिक्काको मूल्य कहिलेकाँही बराबर हुन्छ, केबल तपाईंमा राम्रो कम्पनी किनेर धैर्य  गर्ने शक्ति चाहिन्छ । आज एसटिसीको मूल्य हेर्नुहोस् । कसैले नुन नराखी तरकारी खाएको छ ? अनि किन बढ्दैन त सेयरको मूल्य ?  जब  जब  लकडाउन् बढेर गयो झन धेरै रक्सीको खपत हुन थाल्यो, अनि किन नबढोस् एचडिएलको मूल्य ? हामीले सेयर बजारमा अलिक फरक तरिकाले सोच्न र खोज्न सक्नु पर्छ  ।  

यो पन्क्तिकारका जीवनमा पनि दोब्बर भएका अथवा  कुनै कुनै कम्पनी घटेर डबल भएका पनि थुप्रै  उदारण छन ।  राजनीतिमा  र ब्यापारमा सधैं एकनाश हुँदैन, जसको बाटो नै घुमाउरो छ, घुमेर हिँडेन आँट हरेक मानिसमा हुनुपर्छ । सेयर बजार पनि एउटा चक्र हो नाफाघाटाको खेल चलिरहन्छ ।  अब्बल कम्पनी छानेर     दिर्घकालीन  लगानी  गर्न सके सेयरबाट कहिलै घाटा हुन्न ।