काठमाण्डौ । कुनै अस्पतालले आफूसँग उपलब्ध शैया(बेड) संख्या लुकाएमा सरकारले कडा कारबाही गर्ने भएको छ । 

देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो जानकारी दिएका हुन् । 

उनले सरकारी तथा निजी अस्पतालले दैनिक रुपमा आफूसँग उपलब्ध वा प्रयोग भएका शैयाको विवरण स्वास्थ्य मन्त्रालयलाई अद्यावधिक गर्नुपर्ने र यो क्रममा कुनै अस्पतालले शैया लुकाएको भेटिएमा कडा कारबाही हुने चेतावनी दिएका हुन् । 

यस्तै, सरकारले ठूला अस्पताल र मेडिकल कलेजमा अक्सिजन प्लान्ट संचालनको निर्णय समेत गरेको छ । लिक्वीड अक्सिजनको अबैध निर्यात गर्नेलाई पनि कडा कारबाही गरिने प्रधानमन्त्रीले चेतावनी दिएका छन् । 

सरकारले देशभरका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन बिरामी र अस्पतालका लागि मात्र प्रयोग गर्ने निर्णय गर्दै तत्काल अन्य क्षेत्रतर्फको आपूर्तिमा रोक लगाएको छ । 

यस्तै, सरकारले अवकाशप्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गर्ने घोषणा समेत गरेको छ । 

कोभिड संक्रमितको उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, सफाईकर्मी, शव व्यवस्थापनमा खटिने नेपाली सेना लगायतको सुरु तलब स्केलको ५० प्रतिशत जोखिमभत्ता उपलब्ध गराउने, त्यस्ता व्यक्तिको परिवारको उपचार तथा बीमा सरकारले गर्ने समेत ओलीले घोषणा गरेका छन् । 

उनले बन्दाबन्दीका कारण कसैलाई पनि भोकै मर्न नदिइने समेत बताएका छन् ।