काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले होटल, रेस्टुरेन्ट, बैंकलगायतले शौचालय सार्वजनिक रुपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए ७ दिनभित्र सम्पर्क गर्न आह्वान गरेको छ। 

महानगरको गत जेठ १६ को नगरकार्यपालिका बैठकले शौचालयमा सर्वसाधारणको सहज पहुँच पुर्याउन महानगर क्षेत्रभित्र रहेका होटेल तथा रेस्टुराँलगायतको शौचालय प्रयोग गर्न सकिने निर्णय गरेको थियो। बैठकमा मेयर बालेन साहले होटेल, तथा रेस्टुरेन्टका शौचालयलाई नै सार्वजनिकरूपमा प्रयोगमा ल्याउन सकिने बताएका थिए।

सोही निर्णयलाई महानगरले कार्यान्वयन गर्न आज सूचना प्रकाशित गरी सम्पर्कमा आउन आह्वान गरेको हो। 

सूचनामा होटेल, रेस्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैरसरकारी संघसंस्थालगायतलाई शौचालय सार्वजनिक रूपमा प्रयोग गर्न दिन इच्छा भए काठमाण्डौ महानगरमा सम्पर्क गर्न आह्वान गरिएको छ। त्यसका लागि इच्छुक निकायले सात दिनभित्र काठमाण्डौ महानगरमा सम्पर्क गर्न सक्नेछन्।