–अनन्त्य सुन्दर

काठमाण्डौ । धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरुले आफ्नै टीएमएस ल्याउन आवश्यक प्रक्रिया अघि बढाएका छन्। 

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर कारोबार विनियमावली, २०७५ बोर्डको सञ्चालक समितिबाट पारित गरी नेप्सेमा पठाएको थियो। नेप्सेको सञ्चालक समितिले सेबोनले पठाएको उक्त विनियमावली स्वीकृत गरी गत असार ५ गतेबाट कार्यविधि बनाएर लागू गरेको छ। योसँगै नेप्सेको टीएमएस प्रयोग गर्दै आएका ब्रोकरहरुले उक्त विनियामवालीमा भएको व्यवस्थाअनुरुप नै स्थानीय प्रतिनिधि छनौट गरी आवश्यक प्रक्रिया अघि बढाएका हुन्। 

अहिले सञ्चालनमा रहेका ३७ वटा ब्रोकरले स्थानीय प्रतिनिधि ‘डिजीहब’ मार्फत टीएमएस ल्याउने प्रक्रिया अघि बढाएका छन्। डिजीहबले श्रीलंकास्थित आइरन–वान टेक्नोलोजिजद्वारा निर्मित टीएमएस ल्याउन आवश्यक प्रक्रिया अघि बढाएको छ।  

नेप्सेले जारी गरेको कार्यविधिअनुरुप आफ्नै टीएमएस सञ्चालनका लागि ब्रोकरहरुले नेप्सेबाट स्वकृति लिनुपर्ने हुन्छ। त्यसका साथै टीएमएस सञ्चालनका लागि नेप्सेमा ब्रोकरहरुले प्रतिब्रोकर आवेदन शुल्क १० हजार रुपैयाँ बुझाउनुपर्छ। नेप्सेबाट स्वीकृति लिएपश्चात् कार्यविधिमा भएको व्यवस्थाअनुरुप ब्रोकरहरुले टीएमएस सञ्चालन अघि टेस्टिङ पनि गर्नुपर्छ।

हालसम्म नेप्सेमा आफ्नै टीएमएस सञ्चालनका लागि ११ वटा ब्रोकरले निवेदन दिएका छन्। ती ११ वटा नै ब्रोकरले डिजीहबमार्फत श्रीलंकाको आइरन–वान टेक्नोलोजिजद्वारा निर्मित टीएमएस सञ्चालनको लागि आवेदन दिएको नेप्सेका एक अधिकारीले जानकारी दिए। 

टीएमएस सञ्चालनका लागि नेप्सेमा हालसम्म आवेदन दिने ब्रोकरहरु–

  • नेपाल स्टक हाउस प्रालि
  • एबीसी सेक्युरिटिज प्रालि
  • सेक्युर्ड सेक्युरिटिज प्रालि
  • दीपशिखा धितोपत्र कारोबार प्रालि
  • डाइनामिक मनी मेनेजर्स सेक्युरिटिज प्रालि
  • निभ सेक्युरिटिज प्रालि
  • त्रिशक्ति सेक्युरिटिज पब्लिक लि.
  • सुन्धारा सेक्युरिटिज प्रालि
  • आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज प्रालि
  • श्वेता सेक्युरिटिज प्रालि
  • क्रिस्टल कन्चनजंघा सेक्युरिटिज प्रालि