काठमाण्डौ । विश्वको तीव्र गतिमा बढिरहेको अर्थतन्त्र बंगलादेशमा एक सातामै पेट्रोल र डिजेलको मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको छ।

बंगलादेशले यो मुद्रास्फीतिका लागि युक्रेन युद्धलाई दोष दिइरहेको छ तर आक्रोशित जनता सडकमा उत्रिएका छन्। बंगलादेश श्रीलंका र पाकिस्तानपछि तेस्रो दक्षिण एसियाली देश हो। मुद्रास्फीति आकासिँदै गर्दा बंगलादेशले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग ऋण मागेको छ।

बंगलादेशमा पेट्रोलको मूल्य प्रतिलिटर ८६ रुपैयाँबाट बढेर १३० रुपैयाँ पुगेको छ। त्यसैगरी डिजेल र मट्टीतेलको मूल्य पनि ४२.५ प्रतिशतले बढेको छ।

बंगलादेशका ऊर्जामन्त्री नसरुल हमिदले आकासिएको मुद्रास्फीतिको बारेमा भने, ‘हामीलाई थाहा छ कि मूल्यमा ठूलो वृद्धि भएको छ तर यदि अन्य देशका कारण इन्धनको मूल्य बढिरहेको छ भने हामी के गर्न सक्छौँ ?’

सरकारमाथिको कुप्रबन्धको आरोपलाई अस्वीकार गर्दै हमिदले आफ्नो सरकारले मुद्रास्फीतिबाट बच्न धेरै छुट दिएको तर अहिले मूल्यवृद्धि रोक्न नसकिने बताए। ‘यदि विश्वव्यापी रुपमा मूल्य घट्यो भने हामी केही व्यवस्था गर्ने प्रयास गर्नेछौँ’, उनले भने। 

गत हप्ता इन्धनको नयाँ मूल्य घोषणा गरेपछि हजारौँ बंगलादेशी नागरिकले देशभरका पेट्रोल पम्पहरुमा प्रदर्शन गरेका थिए। बंगलादेशमा विरोध प्रदर्शन, श्रीलंकामा जत्तिकै ठूलो नभए पनि, जनआक्रोश र असन्तुष्टि बढ्दै गएको छ। –एजेन्सी