काठमाण्डौ । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने भएको छ । दसैँ, तिहार तथा छठका अवसरमा कम्पनीले ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा उक्त छुटको घोषणा गरेको हो । 

घटस्थापनादेखि लागू हुनेगरी ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई दिइने छुट इन्धन र करबाहेकको भएको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिनुभयो । त्यस्तै ८५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले रु ५०० मात्रै तिरेर श्री एयरलाइन्सको जहाज चड्न पाउने कम्पनीले जनाएको छ । छुटको टिकट लिनका लागि ज्येष्ठ नागरिकले नागरिकता वा उमेर खुल्ने परिचयपत्र पेश गर्नुपर्नेछ ।

बिक्री काउन्टर वा एयरलाइन्सको एप वा वेबसाइटबाट टिकट लिएकाले सो सुविधा पाउने जनाइएको छ । एउटा उडानमा अधिकतम दुई जनाले मात्रै सो सुविधा पाउने कम्पनीले स्पष्ट पारेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफ्नो वर्ष दिनको कार्ययोजनामा ७० वर्षभन्दा माथिका नागरिकलाई ५० प्रतिशत छुटको घोषणा गर्नुभएको थियो । त्यसको कार्यान्वयनका रुपमा पहिलोपटक राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले केही दिनअघि विज्ञप्ति निकालेर ५० प्रतिशत छुटको घोषणा गरेको थियो ।

निजी क्षेत्रकातर्फबाट श्री एयरलाइन्सले ज्येष्ठ नागरिकका लागि छुटको अफर ल्याएको हो । श्री एयरलाइन्ससँग चार वटा सिआरजे २०० र दुई सिआरजे ७०० जहाज छन् । आन्तरिक उडानमा चार (दुई सिआरजे २०० र दुई सिआरजे ७००) जहाजले चन्द्रगढी, विराटनगर, राजविराज, भैरहवा, नेपालगञ्ज र धनगढी उडान भर्दै आएको छ ।