काठमाण्डौ । कोभिड १९ को संक्रमण पुष्टि भएसँगै फ्रान्सबाट नेपाल आएकी १९ वर्षीय युवती सम्पर्कमा आएका व्यक्तिहरुको सरकारले खोजी सुरु गरेको छ । 

फ्रान्समा अध्ययनरत ती नेपाली युवती चैत ४ गते फ्रान्सबाट कतार हुँदै काठमाण्डौ आएकी थिइन् । उनी काठमाण्डौ आउने क्रममा बिमानमा उनीसँगै यात्रा गर्नेहरुको समेत खोजी थालिएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । 

योसँगै ती युवतीले काठमाण्डौ ओर्लिएपछि भेटेका आफन्त, साथीभाई, छरछिमेक लगायतको समेत सूचि तयार गरी घरमै क्वारेन्टाइनमा राख्न थालिएको उनले जानकारी दिए । 

कोरोना संक्रमण फेला परेकी १९ वर्षीय ती युवतीमा कोरोनाभाइरसको संक्रमण देखिएको र अहिले उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखेर उपचार जारी राखिएको बताइएको छ ।

यसअघि पनि चीनबाट आएका एक नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । उनी भने उपचारपछि स्वस्थ भइसकेका छन् ।