काठमाण्डौ । संघीय संसद सचिवालयको सम्पूर्ण कारोबार अब राष्ट्रिय वाणिज्य बैंकबाट हुने भएको छ। योसँगै अब सांसदले तलब भत्तासहितका सुविधा अब राष्ट्रिय वाणिज्य बैंकबाट प्राप्त गर्ने भएका छन्। यसअघि सांसदहरुको खाता एभरेस्ट बैंकमा थियो। 

सांसदहरुले लामो समयदेखि विदेशी साझेदार रहेको बैंकमा सरकारी खाता सञ्चालन गर्न नहुने धारणा संसद बैठकमै राख्दै आएका थिए। सांसदहरुले बैंक परिवर्तनको माग गरेपछि सभामुखले सरकारलाई कारोबार सरकारी बैंकमार्फत हुने व्यवस्था मिलाउन ध्यानाकर्षण गराएका थिए।

संसद सचिवालयद्वारा जारी विज्ञप्तिमा यसबारेमा जानकारी दिइएको छ। ‘सभामुखज्यूको गम्भीर ध्यानाकर्षण भई यस सम्बन्धमा उहाँको निर्देशन मुताविक संघीय संसद सचिवालयले २०७७ मंसिर १८ गते सरकारी कारोबार गर्ने बैंक परिवर्तन गरी पूर्ण सरकारी स्वामित्व भएको राष्ट्रिय वाणिज्य बैंकमार्फत गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो’, विज्ञप्तिमा भनिएको छ, ’सभामुखको यो पहलपछि अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक तथा महालेखा नियन्त्रकको कार्यालयमार्फत हालै सिंहदरबारस्थित सबै कार्यालयका सरकारी खाताहरू सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमार्फत संचालन गर्न निर्देशन दिएको छ ।’