– अर्जुन तिमिल्सिना

काठमाण्डौ । लामो समयपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विभिन्न कम्पनीलाई आईपीओ र हकप्रद जारी गर्नका लागि अनुमति दिएको छ। 

सर्वोत्तम सेयरको बुक बिल्डिङ विधिबाट सेयर निष्कासनमा ओटीसी मार्केटमार्फत भित्री कारोबारमा मुछिएपछि भीष्मराज ढुंगानालाई सरकारले सेबोनको अध्यक्ष पदबाट बर्खास्त गरेको थियो। ढुंगानालाई अध्यक्ष पदबाट बर्खास्त गरेयता कम्पनीहरुलाई आईपीओ निष्कासनको अनुमति दिने काम रोकिएको थियो। सेबोनको बुधबार बसेको सञ्चालक समितिको बैठकले ५ वटा कम्पनीलाई आईपीओ र २ वटा कम्पनीलाई हकप्रद निष्कासनको अनुमति दिने निर्णय गर्यो। तर, सेबोनले आधिकारिक आफ्नो अफिसियल वेबसाइटमा ती कम्पनीहरुलाई आईपीओ र हकप्रद निष्कासन गर्न दिएको अनुमतिको जानकारी राख्नुअगावै बजारमा चलखेल गर्ने मिडियाहरुलाई प्रयोग गरेर संवेदनशील सूचना चुहियो। 

सेबोनको हिजो बसेको बोर्ड बैठकले आइएमई जनरल इन्स्योरेन्स र शिखर इन्स्योरेन्सलाई हकप्रद निष्कासनको अनुमति दिने निर्णय गरेको विषय सार्वजनिक गराइएको हो । सेबोले यस्ता संवेदनशील विषय सबै लगानीकर्ताले थाहा पाउने गरी उसको वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने हुन्छ । तर, आइएमई जनरल इन्स्योरेन्सलाई ४० प्रतिशत र शिखरलाई ३० प्रतिशतका दरले हकप्रद निष्कासन गर्न दिने भनी गरिएको निर्णय गैरकानुनी ढंगले बाहिर ल्याइएको हो। 

नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार आन्तरिक सूचनामा सेबोन चनाखो हुनुपर्ने बताउँछन्। ‘सूचना लिक गर्ने सेबोनका कर्मचारीहरुमाथि कारबाही हुनुपर्छ’, उनले भने।

सबैभन्दा पहिले यस्ता सूचना सेबोनले अफिसियल पेजमा सार्वजनिक गर्नुपर्ने रौनियारको भनाइ छ। ‘यसरी अधिकारिक नियकाको अफिसियल पेजमा सार्वजनिक हुनुअघि नै सूचना चुहिनु गैरकानुनी हो’, उनले भने, ‘यो गैरकानुनी कामको जिम्मा निमित्त प्रमुखको अधिकार पाएका निरज गिरीले लिनुपर्छ’, उनले भने, ‘राजा नभए पनि देश चल्छ भनेजस्तै अध्यक्ष नभए पनि अधिकारप्राप्त व्यक्तिले यस्ता विषयमा छानबिन गर्नुपर्छ।’

नेपाल पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोला यदि आधिकारिक पेजमा सूचना आउनुअघि नै चुहिन्छ भने गैरकानुनी रहेको बताउँछन्। ‘सूचना चुहिएकै कारण हिजोदेखि नै ती कम्पनीका मूल्यमा अस्वाभाविक वृद्धि हुन थालेको थियो’, उनले भने, ‘यो इन्साइडर टे«डिङ नै हो । यस्तै गलत काम गर्दा आज सेबोन नेतृत्वविहीन भएको छ।’

सरकारले सेबोनलाई चुस्तदुरुस्त पार्नुपर्ने बास्तोलाको भनाइ छ। ‘बेला–बेलामा सेबोनभित्रैबाट यस्ता सूचना चुहिने गरेको छ’, उनले भने, ‘बेलैमा सम्बन्धित निकायले छानबिन गरेर कारबाही गर्नुपर्छ।’ 

सक्रिय लगानीकर्ता भेषराज पौडेल पटकपटक यस्ता गतिविधि हुँदै आएकोले नेपालको सेयर बजारमा विकृति बढ्दै गएको बताउँछन्। ‘नियामक निकायभित्रै कर्मचारी यस्ता दूषित खेलमा लागेका छन्, अरुको त के कुरा गर्नु ?’, उनले भने।