काठमाण्डौ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्माको ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी संसद् भंग गर्दै वैशाख १७ र १७ गते चुनावको घोषणा गरिन्। तर हिजो सर्वोच्च अदालतले संसद् भंगको निर्णय बदर गरिदियो। संसद् भंगको निर्णय बदरसँग अब चुनाव पनि नहुने भएको छ। 

उता निर्वाचन आयोगले पनि चुनावीको तयारीका लागि हालसम्म ८ करोड रुपैयाँ खर्च गरिसकेको छ। जुन अब बालुवा पानी खन्याएसरह भएको छ। 

आयोगले जिल्ला कार्यालयहरुलाई विभिन्न शीर्षकमा ४ करोड १७ लाख ९० हजार रुपैयाँ पठाइको छ भने सोही हाराहारीमा केन्द्रीय कार्यालयले खर्च गरेको हो। सवारी साधन मर्मत, कार्यालयका लागि आवश्यक सामग्री खरिद, धारा, बिजुली मर्मत लगायतका कामका लागि पनि आयोगले रकम निकासा गरिसकेको छ। केन्द्रीय कार्यालयमा पनि सवारी मर्मत, निर्वाचनको अन्य तयारीका क्रममा खर्च भएको छ। 

आयोगले सामान खरिद सूची प्रकाशन अघि सामग्रीको सूची तयार पार्ने, बजार बुझेर लागत अनुमान तयार पार्नेलगायतका कामहरु पनि गर्यो। सामग्री खरिदका लागि पत्रिकामा सूचना प्रकाशन गरियो। 

सरकारले चुनाव घोषणा गरेपछि आयोगले मतदाता नामावली अध्यावधी, मतदान केन्द्रहरुको अवलोकन गर्ने काम, आचारसंहिता लगायतको आन्तरिक तयारी, मतपत्र छपाइसम्बन्धी तयारी, कार्यालयको तयारी, उपकरणहरुको मर्मत सम्भारलगायतका काम गरेको आयोगको भनाइ छ। तर सर्वोच्चले संसद् पुनस्र्थापित गरेपछि आयोगको निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम स्थगित भएको छ। निर्वाचन कार्यक्रम स्थगित गर्नेबारे आयोगले औपचारिक निर्णय भने गरिसकेको छैन। 

यसैगरी आयोगले निर्वाचन सामग्री खरिदका लागि हिजो मंगलबारमात्र पत्रपत्रिकामा सातदिने बोलपत्र प्रकाशन गरेको थियो। तर आयोगले बैठक बसेर बोलपत्र स्थगित गर्ने तयारी गरेको छ। निर्वाचन प्रयोजनका लागि प्रयोग हुने विभिन्न प्रकारका सामग्रीका लागि २५ करोड रुपैयाँ माथिको सामग्री खरिद गर्न लागिएको थियो। 

सरकारले आयोगलाई निर्वाचन तयारीका लागि दिएको रकम अर्थ मन्त्रालयमा फिर्ता हुने भएको छ। आयोगले चुनाव गर्न सरकारसँग ७ अर्ब ७ करोड ९० लाख ८० हजार रुपैयाँ मागेको थियो